धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आसन्न निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र नभई देशको नयाँ इतिहास लेख्ने अवसर भएको बताएका छन् । धनगढीमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अब जनताको मुद्दालाई ‘भोट बैंक’ मात्र बनाउने दिनको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले पुराना राजनीतिक दलहरू प्रति लक्षित गर्दै अब बेथिति र कुशासनको सटर बन्द गर्ने बेला आएको बताए । उनले भने, “अब कि हाम्रो सटर बन्द हुन्छ, कि तिनको (पुराना दलको) सटर बन्द हुन्छ। हामी बेरोजगारी, अशिक्षा र भ्रष्टाचारको सटर सधैँका लागि बन्द गर्न आएका हौँ।”
सभापति लामिछानेले सुदूरपश्चिममा व्याप्त भूमिहीनता र पिछडिएको क्षेत्रका समस्यालाई वर्षौँदेखि राजनीतिक दलहरूले घोषणापत्रमा मात्र सीमित राखेको आरोप लगाए । “मतपत्रमा छाप लगाउने दिन आउन बाँकी होला, तर यहाँका जनताको ‘मनपत्र’मा घण्टीको छाप लागिसकेको मैले पाएको छु,” उनले उत्साह व्यक्त गर्दै भने ।
उनले यो पटक देश बदल्नका लागि छुट्टी मिलाएरै भए पनि मतदान गर्न घर आउन आग्रह गरे । उनले भने, “हिजो नेताले जिते, तर जनताले सधैँ हारे। यसपटक जनता जिताउने निर्वाचन हो।”
मतदातामाझ झुक्काउने खालका भ्रमहरू सिर्जना गरिएको भन्दै उनले स्पष्ट पारे कि आधा-अधुरो परिवर्तनले देश बन्दैन। “बेथिति र भ्रष्टाचार थोरै फाल्ने कि पुरै? यदि पुरै फाल्ने हो भने प्रत्यक्षमा पनि घण्टी र समानुपातिकमा पनि घण्टीमै मतदान गर्नुपर्छ,” भन्दै उनले ‘एकमुष्ट घण्टी’ अभियानमा सहभागी हुन अपिल गरे ।































प्रतिक्रिया