काठमाडौं। टेलिभिजन रियालिटी शो कमेडी नाइट विथ च्याम्पियन्स को नयाँ एपिसोड सार्वजनिक हुनुअघि नै राजनीतिक विवाद चर्किएको छ। शोको ४७औं एपिसोडको ट्रेलरमा बालकलाकार सुयसा खनालले रेनु दाहालको क्यारिकेचर गर्दै बोलेको संवादलाई लिएर नेकपानिकट जेन–जी रेड फोर्स नेपालले कडा आपत्ति जनाएको हो।
ट्रेलरमा कार्यक्रम सञ्चालक विशाल भण्डारीले सोधेको प्रश्न -“तपाईंको ड्याडीले अहिलेसम्म के महान काम गर्नुभयो ?” – को जवाफमा क्यारिकेचर गरिएको पात्र ‘रेनु’ ले भन्छिन्, “आफैंले सुरु गरेको पार्टी आफैंले सकाउनुभयो।” यही संवादलाई रेड फोर्सले नेकपा अध्यक्षप्रति लक्षित व्यंग्य भन्दै आपत्तिजनक ठहर गरेको छ।
रेड फोर्सले विज्ञप्ति जारी गर्दै उक्त प्रस्तुतीकरणले नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्तित्वको राजनीतिक योगदान र ऐतिहासिक भूमिकालाई हल्का ढंगले प्रस्तुत गरेको आरोप लगाएको छ। उनीहरूले सार्वजनिक व्यक्तित्वबारे हास्य प्रस्तुत गर्दा न्यूनतम सम्मान र जिम्मेवारी देखाउन आग्रह गरेका छन्।
तर अर्कोतर्फ, बालकलाकार सुयसा खनालले नै उक्त विज्ञप्तिप्रति असन्तुष्टि जनाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले हास्यव्यंग्य गर्ने स्वतन्त्रतामाथि बन्देज लगाउने प्रयास भएको टिप्पणी गरेकी छन्। उनले राजतन्त्रको समयमा समेत व्यंग्य गर्न पाइन्थ्यो भन्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो धारणा राखेकी छन्।





























प्रतिक्रिया