काठमाडौं। प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभरका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितासहित निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन भइरहेको जनाएको छ ।
काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमले ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’ र ‘सर्वेक्षण’ शीर्षकमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी मत प्रभावित हुन सक्ने सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘यो उम्मेदवारले जित्नेछन्’, ‘यो उम्मेदवार धेरै अगाडि’, ‘नयाँतिर आकर्षण’, ‘यसको लहर छ, यसको छैन’, ‘डेन्जर जोनमा’ जस्ता अभिव्यक्तिमार्फत नागरिकको मनोभावनामा असर पार्ने तथा मतदाता दिग्भ्रमित हुने सामग्री प्रकाशित भएको उल्लेख गर्दै काउन्सिलले त्यस्ता सामग्री स्वच्छ र निष्पक्ष निर्वाचनका लागि प्रतिकूल हुन सक्ने जनाएको छ । आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई नोटिसमा राखिएको पनि स्पष्ट पारिएको छ ।
प्रेस स्वतन्त्रताको नाममा सम्प्रेषित सामग्रीले कसैलाई लाभ वा हानि पुग्न सक्नेतर्फ सचेत गराउँदै काउन्सिलले सञ्चारमाध्यम र पत्रकारलाई तटस्थ तथा निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेको छ । सहप्रवक्ता रामशरण बोहराका अनुसार यस महत्वपूर्ण सन्दर्भमा सञ्चार क्षेत्र अझ मर्यादित, जिम्मेवार र उत्तरदायी हुन आवश्यक छ ।
निर्वाचन सफल बनाउन राज्यका अन्य निकायसरह सञ्चार क्षेत्रको पनि विशेष भूमिका रहने भन्दै काउन्सिलले स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ ।
आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न तथा स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र मत प्रभावित गर्ने खालका सामग्री सम्प्रेषण नगर्न काउन्सिलले ध्यानाकर्षण गराएको छ ।































प्रतिक्रिया