म ठूला आश्वासन लिएर होइन, जनजीवनसँग जोडिएका मुद्धासहित मैदानमा छु -नीतिमा कार्की [भिडियो]

म ठूला आश्वासन लिएर होइन, जनजीवनसँग जोडिएका मुद्धासहित मैदानमा छु -नीतिमा कार्की [भिडियो]

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट नीतिमा भण्डारी (कार्की)लाई उम्मेदवार बनाएको छ । आफ्नै गृहजिल्लाबाट चुनावी मैदानमा होमिएकी भण्डारी एक सफल महिला उद्यमीका रूपमा परिचित छिन् । उनले बाजेको सेकुवा नामको चर्चित रेस्टुरेन्ट मार्फत करिब एक हजार जनालाई रोजगारी दिइरहेकी छन् । आफ्नो व्यावसायिक विज्ञतालाई अब राजनीति र समाजसेवामा लगाउने अठोटका साथ उनी चुनावी मैदानमा आएकी हुन् । प्रस्तुत छ, सर्लाहीको समग्र विकास, रोजगारी सिर्जना र राजनीतिक परिवर्तनका एजेन्डाहरूमा केन्द्रित भई उम्मेदवार कार्कीसँग केन्द्रबिन्दुले गरेको कुराकानी-

तपाईं एउटा महिला उद्यमीका रूपमा चिनिएको मान्छे, धेरैलाई रोजगारी दिइरहेको मान्छे, आफ्नो पेसा व्यवसायमा रमाइरहेको मान्छे किन राजनीति तिर होमिनुभयो ?

-राष्ट्रिय योगदान आफ्नो ठाउँमा छ। मैले आफ्नो शिक्षा पूरा गरेपछि सुरु गरेको व्यवसायलाई हामीले विश्व बजारसम्म पुर्‍याउन सफल भयौँ। सायद, विश्व बजारमा पुग्ने यो नेपालको पहिलो ब्रान्ड पनि हो। तर व्यवसायसँगै म यो देशको एक सचेत र संवेदनशील नागरिक पनि हुँ। हिजोका दिनमा यो व्यवस्था र प्रणालीको ‘रिसिभर’ मात्र भएर बसेँ।

अर्को कुरा, मेरो विज्ञता उद्योग खोल्ने र व्यवसाय चलाउनेमा छ। म पटक-पटक मेरो जन्मथलो सर्लाही, श्रीमानको गृह नगर सुनसरीको दुहबी, अनि बारा-पर्सा कोरिडोर पुग्छु । पूर्व-पश्चिम राजमार्ग यस क्षेत्रको मुटु भएरै जान्छ, तर सर्लाही आइपुग्दा यहाँ कुनै उद्योग देखिँदैन। यो प्रश्नले मलाई सधैं पिरोल्छ— किन यहाँ केही हुन सकेन ? त्यसैले मलाई लाग्यो, अब मेरो विज्ञता मेरो आफ्नै क्षेत्रका लागि प्रयोग गर्नुपर्छ। राजनीति केवल ‘व्यावसायिक राजनीतिज्ञ’ हरूको मात्र होइन, यसमा हरेक वर्ग र क्षेत्रका विज्ञहरू आउनुपर्छ। मैले यही आवश्यकता महसुस गरेर राजनीति रोजेकी हुँ।

तपाईंले निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर १ नै किन रोज्नुभयो ?

-म मधेसकी छोरी हुँ। यहाँ हाम्रो ४०० वर्ष पुरानो पारिवारिक इतिहास छ। म यहाँको भौगोलिक बनावट र सामाजिक विविधतासँग पूर्ण परिचित छु। सर्लाही क्षेत्र नम्बर १ मा थारु, मधेसी र पहाडी समुदायको सुन्दर समिश्रण छ।

धेरैले तराईलाई सुगम मात्र ठान्छन्, तर हामीसँग दुर्गम पहाडी भेग पनि छ, जहाँ अहिलेसम्म बाटोघाटो पुगेको छैन। आफन्त र नातेदारको नाताले पनि म यहाँका जनताको दुखसँग जोडिएकी छु । तराईको उन्नतिका लागि के गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। त्यसैले आफ्नै माटोबाट सेवा सुरु गर्न मैले यहाँ उम्मेदवारी दिएकी हुँ।

तपाईं मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ। फिल्डमा जाँदा यहाँका मुख्य समस्याहरू के-के देख्नुभयो? र तिनको समाधान कसरी गर्न सकिन्छ जस्तो लाग्छ ?

-मैले मतदाता भेटघाटको क्रममा के महसुस गरेँ भने—तराई सुगम पनि छ र दुर्गम पनि। यहाँको टड्कारो समस्या भनेको अधिकांश नागरिक कृषिमा आश्रित हुनुहुन्छ, तर कृषिको बजारीकरण व्यवस्थित छैन। हाम्रो सीमा नजिकै छ। नेपाली किसानले उत्पादन गर्नुहुन्छ, तर सीमापारिबाट सहजै सामान भित्रिदिँदा यहाँका किसानले उचित मूल्य पाउनुहुन्न। ठूलो मेहनतका बाबजुद अन्त्यमा मूल्य नपाउँदा किसानहरू निराश हुनुहुन्छ।

अर्को मुख्य समस्या भण्डारणको हो। पर्याप्त शीत भण्डार छैन। उत्पादन बढी भएको बेला भण्डारण गरेर पछि प्रयोग गर्ने व्यवस्था नहुँदा, भाउ पाए बेच्ने नभए सडकमा खन्याउनुपर्ने बाध्यता छ। दुग्ध उत्पादक किसानहरूको अवस्था पनि उस्तै छ। सस्तो मूल्यमा दूध बाहिर जान्छ, त्यही दूध पाउडर बनेर पुनः नेपाल भित्रिन्छ, तर हाम्रा किसानले भने उचित लाभ पाउन सक्नुहुन्न।

अर्काे, सर्लाहीमा ऐलानी जग्गाको ठूलो समस्या छ । दशौँ हजार घरधुरी र हजारौँ हेक्टर जग्गा उपभोग भइरहेको छ,जसको नापी २०२२ सालमै भइसकेको हो। तर, हालसम्म लालपुर्जा नपाउँदा किसानहरूले बैंकिङ कारोबार गर्न पाएका छैनन्। आफ्नो सम्पत्ति भएर पनि त्यसलाई धितो राखेर उद्यम गर्ने बाटो बन्द छ। यसका साथै बाढी र तटबन्धको समस्या, शिक्षाको कमजोर गुणस्तर जस्ता मुद्दाहरू पनि छन्। टोल–टोलमा विद्यालय त छन्, तर गुणस्तरीय शिक्षा छैन। अर्को बिडम्बना, जनताले ‘नाला चाहिँदैन, कुलो देऊ’ भनिरहनुभएको छ, तर ढलको सही निकासबिना जबर्जस्ती नाला बनाइएको छ। ती नालामा पानी जमेर हैजा जस्ता महामारी फैलिने जोखिम बढेको छ।

अब रास्वपाले परम्परागत राजनीतिक शैली तोड्ने भनेको छ। सर्लाही–१ को हकमा यो कसरी सम्भव छ ?

-गफ दिनुभन्दा ‘ग्राउन्डेड’ भएर काम गर्ने हाम्रो लक्ष्य हो। सर्लाही सुगम र उर्वर ठाउँ हो। यहाँ काम गर्न सक्ने प्रशस्त सम्भावना छन्। मेरो प्राथमिकता साना किसानहरूलाई बजार व्यवस्थापनमा सहयोग गर्ने र कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने हुनेछ । यसो गर्दा धेरै समस्याहरू स्वतः समाधान हुन्छन्।

धेरै बोल्नुभन्दा जनतासँगै मिलेर काम गर्नु प्रभावकारी हुन्छ। यसलाई ‘पपुलिस्ट’ नारा मात्र नभनौँ, यो त अहिलेको आवश्यकता हो। जनतामा पनि परिवर्तनपछि ‘हामी केही गर्न सक्छौँ’ भन्ने आत्मविश्वास जागेको छ। यसपालि क्षेत्र घुम्दा मतदाताहरू निकै सचेत र संवेदनशील पाएँ। उहाँहरूलाई आफ्नो आवश्यकता प्रस्ट थाहा छ। जब जनता आफैँ सचेत हुन्छन्, प्रतिनिधिले काम गर्न झन् सजिलो हुन्छ।

सर्लाही वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा पर्छ। आन्तरिक रोजगारीको अवसर छैन। तपाईं महिला उद्यमी पनि हुनुहुन्छ, निर्वाचित भएपछि रोजगारी कसरी सिर्जना गर्नुहुन्छ?

-मैले जनतासँगको संवादमा पनि यही भनेकी छु—हामीलाई कृषि केन्द्रित उद्योग चाहिन्छ। म आफैँ पनि मसला व्यवसायी हुँ। नेपालमा ठूला–ठूला मसला उद्योगहरू छन्, जसको वार्षिक र मासिक अर्बौँको कारोबार हुन्छ। तर मुख्य समस्या कच्चा पदार्थको छ।

जिरा नेपालमा फल्दैन, त्यसलाई छाडौं । तर लसुन, अदुवा, प्याज र टमाटर पाउडर जस्ता कच्चा पदार्थहरू ठूलो मात्रामा चाहिन्छ, जुन अहिले तेस्रो मुलुकबाट आयात भइरहेका छन्। यदि सर्लाहीका किसानलाई यी कच्चा पदार्थको उत्पादनमा जोड्न सकियो भने रोजगारी र आयआर्जनको समस्या तुरुन्तै समाधान हुन सक्छ।

यहाँ कोहीसँग जमिन छ तर काम गर्ने जनशक्ति छैन, कोहीसँग काम गर्ने सीप र क्षमता छ तर जमिन छैन। हामीले साना किसान र साना उद्योगलाई आपसमा जोड्ने पुलको काम गर्नुपर्छ। साथै, तराईका थारु समुदायका महिलाहरू हस्तकलामा अत्यन्त निपुण हुनुहुन्छ। हस्तकलासम्बन्धी व्यवस्थित कार्यक्रम र बजार ल्याउन सके तराईले आर्थिक फड्को मार्न धेरै समय लाग्दैन।

यहाँ सवा लाख मतदातामध्ये २२ हजार थारु र करिब त्यति नै संख्यामा मधेसी समुदायको मत छ। यस्तो अवस्थामा पुराना र स्थापित राजनीतिक दलका प्रतिस्पर्धीहरूसँग चुनावी मैदानमा उत्रनु कत्तिको चुनौतीपूर्ण छ ?

-सबैभन्दा पहिले, उहाँहरू (प्रतिस्पर्धीहरू) राजनीतिमा एकदमै विज्ञ हुनुहुन्छ। यही क्षेत्रमा बस्नुभएका मेरै दाजुभाइहरू हुनुहुन्छ। उहाँहरूलाई चिनेर र देखेरै हामी हुर्किएका हौँ। कुनै समय म आफैँ उहाँहरूको मतदाता थिएँ, मैले उहाँहरूलाई भोट पनि हालेकी छु।

तर अहिलेको मुख्य जनगुनासो के छ भने—नेताहरू चुनाव जित्छन् र त्यसपछि फर्केर आउँदैनन्। चुनावका बेला ऐलानी जग्गाको मुद्दा उठाउने, भोट लिने, ‘गदिन्छु’ भन्ने तर पछि बेवास्ता गर्ने प्रवृत्ति छ।

कतै तपाईंको नियत पनि त्यस्तै त हुने होइन ?

-मेरो हकमा त्यस्तो हुँदैन । म लामो समय व्यवसाय गरेर अब समाजमा केही योगदान दिनुपर्छ भन्ने सोचका साथ आएकी हुँ। हाम्रो सनातनी संस्कारले पनि भन्छ— आफूले आर्जन गरिसकेपछि समाजलाई फिर्ता दिनुपर्छ। यो मानवले गर्नुपर्ने अपरिहार्य कार्य हो भन्ने मेरो मान्यता छ।

यहाँ आउनुअघि मैले धेरै ‘मेन्टर’हरूसँग परामर्श गरेँ। उहाँहरूले भन्नुभयो, “राजनीति सजिलो छैन। तिमीलाई दैनिक ५०० वटा फोन आउन सक्छ। राति दुर्घटना हुँदा होस् वा सुत्केरीलाई समस्या पर्दा, मानिसहरूले तिमीलाई नै खोज्छन्। त्यसैले पूर्ण जवाफदेहिताका साथ आउनुपर्छ।” म मानसिक र शारीरिक रूपमा तयार भएर आएकी हुँ। म यहाँ पाँच वर्ष निरन्तर खटिनेछु।

घरदैलोमा जाँदा जनताको पहिलो प्रश्न हुन्छ— “तपाईं जितेपछि हराउनु त हुन्न?” म भन्छु— मेरो सचिवालय सर्लाही १ मै हुन्छ। काठमाडौँमा पनि सम्पर्क कार्यालय हुन्छ। म जतिबेला पनि उपलब्ध हुनेछु।

सचिवालयमा कानुनी, आर्थिक, शैक्षिक विभाग राखेर काम गर्ने सोच छ । तराईमा झै-झगडा धेरै हुन्छ, त्यसलाई व्यवस्थापन गर्न पनि संरचना चाहिन्छ। परम्परागत राजनीतिभन्दा फरक भएर काम गर्ने मेरो सोच हो। महिला भएकाले म व्यवस्थापनमा सक्षम छु। २० वर्षदेखि हजार जनाभन्दा बढी रोजगारी भएको संस्था चलाएर आएको अनुभवले जिल्लामा काम गर्न मद्दत गर्छ।

तपाईं हराउनुहुन्न ?

-म हराउँदिनँ, म यहीँ हुन्छु र उहाँहरूसँगै बसेर काम गर्छु। नीतिगत कार्यका लागि मलाई खोजिरहनुपर्ने अवस्था आउने छैन, बिल्कुलै आउने छैन। वैदेशिक रोजगारीका कारण समाजमा धेरै समस्याहरू उत्पन्न भएका छन्। वृद्ध आमाबुवाहरूले दुःख पाइरहनुभएको छ । बुवा विदेश जाने र पैसा पठाउने गरे पनि ८–९ कक्षामा पढ्ने छोराछोरीलाई आमाले मात्र राम्रोसँग हेरचाह गर्न नसक्दा उनीहरू कुलतमा फस्ने जोखिम बढेको छ।

विदेश गएका दिदीबहिनीका छोरीहरू सुरक्षित छैनन्। मामाघर वा काकाघरमा बस्दा उनीहरूमाथि हुने अनैतिक व्यवहार र दुर्व्यवहारका घटनाहरू मैले देखेकी छु। कतिपय साना बालबालिकाहरू त आश्रय (सेल्टर) को खोजीमा मसँग आइरहेका छन्।

महिलाहरूले मलाई महत्वपूर्ण सुझावहरू पनि दिनुभएको छ। लालबन्दी–१५ र वडा नं. ५ का महिलाहरू भन्नुहुन्छ— ‘हाम्रा श्रीमान् २–३ लाख खर्च गरेर विदेश जानुहुन्छ। बरु हामी मिलेर १–१.५ लाख जम्मा गर्छौँ र २–२.५ करोड उठाउँछौँ, यहाँ हाम्रो लागि एउटा उद्योग खोलिदिनुस्।’

अहिले जनगुनासो मात्र होइन, रचनात्मक सुझावहरू पनि आइरहेका छन्। विदेशमा रहेका दाजुभाइ र उच्च शिक्षाका लागि बाहिर गएका युवाहरूले पनि मलाई सन्देश पठाइरहनुभएको छ— ‘यो–यो काम गर्नुहोस्, हामी तपाईंलाई पूर्ण सहयोग गर्छौँ।’

परिवर्तन सबैलाई चाहिएको छ, तर कसलाई विश्वास गर्ने भन्ने अन्योल मात्र बाँकी छ।मैले यहाँको विकासमा ‘ह्वाइट करप्सन’ देखेकी छु। उदाहरणका लागि, सुनसान खेतको बीचमा ठूला गेटहरू बनाइएका छन्। प्राकृतिक रूपमा सुन्दर तालतलैयामा अनावश्यक पर्खाल लगाइएको छ। सडकको उचित व्यवस्था छैन, तर जताततै अपूरा र योजनाविहीन निर्माण कार्यहरू छन्।

स्वास्थ्य सेवाको अवस्था त झन् दयनीय छ। मेरो आफ्नै गाउँ नवलपुरमा एक १८ वर्षीया युवतीले ज्यान गुमाउनुपर्‍यो। अहेव स्तरको व्यक्तिले क्लिनिकमा पाइल्सको शल्यक्रिया गर्दा उनको मृत्यु भयो। राजमार्गले छोएको जिल्लाको अवस्था त यस्तो छ भने दुर्गमको के होला? स्वास्थ्य मन्त्रालय वा जिल्ला स्वास्थ्य कार्यालयले अनुगमन नगर्नु गम्भीर लापरबाही हो।

यसको समाधान के ?

-सरकारले कर्मचारी वा स्रोत नखटाएको होइन, मुख्य कुरा उनीहरूबाट काम लिन सक्नुपर्‍यो। न्यायपालिका, कार्यपालिका र स्थानीय सरकारले प्रभावकारी रूपमा काम लिनु आवश्यक छ।

यहाँ ‘झुण्डमा बस्ने’ प्रवृत्ति छ। आफ्नो पार्टीले जितेको ठाउँमा मात्र सडक बनाउने र अर्को ठाउँ खाली छोड्ने गरिन्छ। “यो मेरो भोटर हो, यो होइन” भनेर विभेद गर्ने गरिन्छ। आफ्नो मतदाता भएको क्षेत्रमा विकास गर्ने र नभएको ठाउँमा बेवास्ता गर्ने चलन छ।

-विकासमा पनि भेदभाव हुन्छ र?

-हो, विकासमा मात्र होइन, यहाँ जातीय र सामुदायिक भेदभाव पनि छ। नेता जनताको प्रतिनिधि हो, कुनै निश्चित जात वा समूहको मात्र होइन। यस्तो प्रकारको प्रवृत्ति र भ्रष्टाचारलाई हटाउनुपर्छ। सर्लाहीमा विज्ञहरू ल्याएर योजनाबद्ध रूपमा काम गर्नुपर्छ। यदि हामीले मौका पायौँ भने, काम गरेर देखाउनेछौँ।

अन्तिममा, यहाँका मतदाताका लागि तपाईंका प्रतिबद्धताहरू के–के छन् ?

-म ठूला र अपूरा आश्वासन दिन चाहन्नँ। यस क्षेत्रमा औद्योगिक वातावरणको सिर्जना गर्ने र नयाँ उद्योगहरू स्थापनाका लागि सहजीकरण गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ। भाषणमा मात्र होइन, ठोस रूपमै रोजगारीका अवसरहरू सिर्जना गरेर देखाउने मेरो प्रतिबद्धता छ।

विद्यालयहरूको संख्या पर्याप्त छ, तर अब तिनको शैक्षिक गुणस्तर सुधार्नु आवश्यक छ। म शिक्षाको स्तर उकास्न ठोस पहल गर्नेछु । अर्काे, हाम्रा आमा–दिदीबहिनीहरू उपचारका लागि टाढा धाउनु नपरोस् भन्ने मेरो चाहना छ। अस्पतालहरूको अवस्था सुदृढ नभएसम्म म गाउँ–गाउँमा ‘हेल्थ क्याम्प’ (स्वास्थ्य शिविर) सञ्चालन गरेर सेवा पुर्‍याउन सहजीकरण गर्नेछु।

यस्तै, वैदेशिक रोजगारको कारणले सबैभन्दा धेरै परिवार टुक्रिएको देखेको छु । ‘रि–इन्टिग्रेसन प्रोग्राम’द्वारा परिवार पुनर्मिलन कार्यक्रमलाई प्राथमिकतामा राख्छु। विदेशबाट फर्किएकाहरूलाई साना उद्योग खोल्न मद्दत गरी उहाँहरूलाई यहीँ स्थापित गराउने मेरो संकल्प छ।

Skip This
Skip This
Logo