चन्द्रपुर। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।
क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर र गौर कारागार परिसर तथा क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यी केन्द्रमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्नेछन्। तीनवटै केन्द्रमा दुई–दुई जना कर्मचारी खटाइएको छ। गौर कारागारमा ६३ जना कैदीबन्दी मतदाता रहेका छन्।
जिल्लाका चार निर्वाचन क्षेत्रमा २७७ मतदानस्थल र ५४१ मतदान केन्द्र छन्। १८ पालिका रहेको रौतहटमा यस वर्ष चार लाख ३६ हजार ६११ मतदाता रहेका छन्।
दुई मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्व
गौर नगरपालिका–५ स्थित आधारभूत विद्यालय बालमन्दिर भवन मतदानस्थलका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ।
‘क’ केन्द्रमा आस्था शर्मा पौडेल मतदान अधिकृत, सुचिता श्रीवास्तव सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी खटिएका छन्। ‘ख’ केन्द्रमा सब्रिना खातुन मतदान अधिकृत र कल्याणी मिश्र सहायक मतदान अधिकृतसहितको टोली खटिएको छ।
क्षेत्र नं १ मा १३२ मतदान केन्द्र रहेका छन्। यहाँ खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई फागुन ९ गते प्रशिक्षण दिइसकिएको छ। जिल्लाभरका ५४१ मतदान केन्द्रमा एक हजार ४६ जना कर्मचारी परिचालन भइसकेका छन्।
आचारसंहिता उल्लङ्घन नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाएको छ। राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि, मतदाता र सर्वसाधारणलाई शान्ति, सद्भाव र सौहार्द कायम गर्न आग्रह गरिएको छ।
फागु पर्व मर्यादित र अनुशासित रूपमा मनाउन, भीडभाड हुने कार्यक्रम आयोजना गर्नुअघि प्रशासनबाट अनुमति लिनुपर्ने तथा अनुमतिविना मेला, जात्रा सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ।
कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्ने जस्ता गतिविधि नगर्न, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई अवरोध नगर्न तथा कानुनविपरीतका कार्य नगर्न प्रशासनले चेतावनी दिएको छ।
शान्ति सुरक्षामा असर पर्ने गरी मादक पदार्थ सेवन नगर्न, ट्राफिक नियम पालना गर्न, सार्वजनिक स्थानमा होहल्ला नगर्न र ध्वनि प्रदूषण नगर्न पनि आग्रह गरिएको छ। कानुनविपरीत गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ।































प्रतिक्रिया