भक्तपुर
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु पानीट्याङ्कीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो साँझ पसल गएर फर्कने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा सिरिश तामाङलाई चितुवाले आक्रमण गरी घिसारेर जङ्गलमा लगेको थियो ।
पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको टोलीले राति साँढे १० बजे बालकुमारी सामूदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रबत्ता कृष्ण प्रसाईले बताए । चितुवाले बालकलाई आक्रमण गरी बेपत्ता पारेको आशंका गरी खोज्दा जङ्गलमा बालकको शरिर क्षतविक्षत अवस्थामा फेला परेको र मानिसको भिड देखेपछि चितुवा भागेको हुन सक्ने प्रहरीले बताएको छ । टाउको छिनेको, दुबै तिघ्रा नभएको बालकको शव फेला परेको र उक्त घटना जंगली जनावरको आक्रमणबाट हुन सक्ने र शव निज सिरिश तामाङको हो भनी अनुसन्धानको क्रममा खुल्न आएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
चितुवाले बालकको शरीरको बिभिन्न भाग खाएको अवस्थामा शव फेला परेको छ । बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । चितुवाले बालक खाएको घटना पछि स्थानीयवासी बाटो हिड्डुल गर्न समेत भयभीत भएका छन् । स्थानियवासीहरुले उक्त जनावर बाघ नै भएको बताइरहे पनि पहाडी क्षेत्रमा बाघ नभई चितुवाको आक्रमणले बेला बेलामा यस्ता घटना हुने गरेको पाईएको छ ।





























प्रतिक्रिया