सर्लाही । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले मधेशको उर्वर भूमि सर्लाही–१ फेरि राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याएको छ । २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा यसपटकको भिडन्तलाई ‘पुराना अनुहार कि नयाँ एजेन्डा’ भनेर ध्रुव्रीकृत गरिएको छ ।
सर्लाही–१ मा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र रास्वपाबीच हुने आँकलन छ । नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, एमालेबाट मनोजकुमार देवकोटा, नेकपाबाट प्रमोद साह र रास्वपाबाट नीतिमा भण्डारी कार्की उम्मेदवार छन् । यस क्षेत्रका तीन जना पूर्वप्रतिनिधि सभा सदस्य—शम्भुलाल श्रेष्ठ, प्रमोद साह र रामप्रकाश चौधरी फेरि मैदानमा वा प्रभाव क्षेत्रमा छन् । २०७९ को निर्वाचनमा रामप्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका थिए । त्यतिबेला गठबन्धन समीकरण निर्णायक बनेको थियो । २०७४ मा भने प्रमोद साह २२ हजार ३६ मतसहित विजयी भएका थिए । प्रत्येक निर्वाचनमा नयाँ अनुहार चयन गर्ने प्रवृत्तिका कारण सर्लाही–१ लाई ‘परिवर्तन रोज्ने क्षेत्र’ का रूपमा चित्रण गरिन्छ ।
एक लाख ३० हजार ८७१ मतदाता रहेको यस क्षेत्रमा चन्द्रनगर गाउँपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर, हरिपुर र कविलासी नगरपालिकाका वडाहरू पर्छन् । चुरे पहाडको भेगदेखि मधेशको समथर उर्वर भूमिसम्म फैलिएको भौगोलिक विविधता यहाँको राजनीतिक प्राथमिकतामा पनि देखिन्छ ।
रास्वपाको लहर र नीतिमाको व्यक्तित्व
रास्वपाकी नीतिमा भण्डारी कार्की सर्लाही–१ मा परम्परागत दलका उम्मेदवारहरूलाई चुनौती दिएकी छन् । उनको उभार पार्टीको लहरमा आधारित होइन, बरु स्थानीय मुद्दामाथि केन्द्रित, एजेन्डा र ‘नतिजासहितको उत्तरदायित्व’ नाराले तानेको छ ।
कार्कीले चुनावी बहसको केन्द्र नै फेरिदिएकी छन् । जहाँ परम्परागत दलले संगठन, पुराना उपलब्धि र शक्ति सन्तुलनको कुरा गरिरहेका छन्, त्यहाँ उनले कृषि बजारीकरण, शीतभण्डार, न्यूनतम समर्थन मूल्य, ऐलानी जग्गा समस्या र महिला स्वास्थ्य केन्द्रजस्ता ठोस तथा प्रत्यक्ष प्रभाव पार्ने मुद्दा अघि सारेकी छन् ।
सर्लाही–१ को ‘परिवर्तन रोज्ने क्षेत्र’ भन्ने इतिहासलाई उनले रणनीतिक रूपमा उपयोग गरिरहेकी छन् । अघिल्ला निर्वाचनहरूमा नयाँ अनुहारलाई प्राथमिकता दिने प्रवृत्ति देखिएको सन्दर्भमा उनले आफूलाई पुराना समीकरणभन्दा फरक, व्यवस्थापन अनुभव भएको, ‘नहराउने’ प्रतिनिधिका रूपमा प्रस्तुत गरेकी छन् । महिला नेतृत्वको प्रतिनिधित्व कमजोर रहेको क्षेत्रमा महिला स्वास्थ्य, नदी बेल्ट खेती र हस्तकला प्रवद्र्धनजस्ता कार्यक्रममार्फत आधा जनसंख्यालाई प्रत्यक्ष सम्बोधन गर्नु उनको थप बलियो पक्ष बनेको छ ।
उद्यमी पृष्ठभूमिकी नीतिमा भण्डारी कार्कीले आफ्नो व्यवस्थापन अनुभवलाई राजनीतिक काममा रूपान्तरण गर्ने दाबी गर्छिन् । ‘राजनीति व्यावसायिक राजनीतिज्ञहरूको मात्र होइन, विज्ञहरूको पनि हुनुपर्छ,’ उनको तर्क छ । उनले सर्लाही–१ मै सचिवालय स्थापना गर्ने, कानुनी, आर्थिक र शैक्षिक विभाग राखेर जनतासँग निरन्तर सम्पर्कमा रहने योजना सार्वजनिक गरेकी छन् । ‘म हराउँदिनँ, यहीँ हुन्छु,’ उनी मतदातालाई आश्वस्त पार्छिन् ।
मतदाताको पनि आकर्षण
लालबन्दी–५ का ४२ वर्षीय किसान रामचरित्र महतोसँग हामीले सोध्यौं, ‘यसपालि कसलाई ?’ उनले ढिलाइ नगरी भने, ‘कृषकको कुरा गर्ने मान्छेलाई । बजार मिलाउनेलाई ।’ उनले अघिल्लो चुनावमा माओवादीलाई रोजेका रहेछन् ।
ईश्वरपुरका केही मतदातासँग सुरुवातमा कुरा गर्दा उनीहरू खुलेनन्। हामीले प्रतिप्रश्न गर्यौं— ‘पार्टी कि व्यक्ति?’ एक युवाले हाँस्दै भने, ‘पार्टी त हेर्यौं धेरै, अब काम गर्ने व्यक्ति चाहियो ।’ वैदेशिक रोजगारीबाट फर्किएका ३१ वर्षीय सुरज कार्कीले भने, ‘यहाँ साना उद्योग खोल्न सहजीकरण गर्ने, बैंकसँग जोड्ने कुरा अरूले गरेनन् । नीतिमा दिदीले सचिवालय यहीँ खोल्छु, हराउँदिनँ भन्नुभएको छ । हामीलाई यही चाहिएको हो ।’
सर्लाही–१ मा थारु, मधेसी र पहाडी समुदाय मिसिएको सामाजिक बनोट छ । कविलासीका एक स्थानीय अगुवाले भने, ‘हामीलाई विभाजन होइन, आम्दानी बढ्ने उपाय चाहिएको छ ।’
धेरैले एउटै शब्द दोहोर्याए— ‘परिवर्तन ।’ लालबन्दीको चिया पसलदेखि हरिपुरका खेतसम्म धेरै मतदाताले एउटै वाक्य दोहोर्याए, ‘धेरै हेर्यौं पुराना अनुहार, अब नयाँलाई मौका ।’ अघिल्लो पटक कांग्रेस वा माओवादी रोजेका केही मतदाता यसपालि खुल्दै भन्छन्, ‘काम भएन भने फेरि बदल्छौं, तर अहिले परिवर्तन रोज्ने बेला हो ।’ युवापुस्तामा यो भावना अझ तीव्र छ— उनीहरूका लागि परिवर्तन पार्टी फेरबदल होइन, काम गर्ने शैली, पहुँच भएको प्रतिनिधि र नतिजा देखिने राजनीति हो ।’ यही मनोविज्ञानले नीतिमाको जीतलाई सहज बनाउँदै गएको छ ।
एजेन्डालाई प्राथमिकता
रास्वपाकी उम्मेदवार नीतिमा भण्डारी कार्कीले सार्वजनिक गरेको घोषणापत्रलाई उनले ‘नागरिकसँगको करार’ भनेकी छन् । ‘राजनीति अब चुनावका बेला गरिने अस्पष्ट खेल होइन, यो जनतासँग गरिएको करार सम्झौता हो । म वाचा मात्र गर्दिनँ, नतिजासहितको उत्तरदायित्व लिन्छु,’ उनको भनाइ छ ।
कृषि क्षेत्रलाई मेरुदण्ड मानेर उनले किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य कडाइका साथ कार्यान्वयन गर्ने, कृषि संकलन तथा बिक्री केन्द्र स्थापना गर्ने र आधुनिक प्रविधिमार्फत लागत घटाउने योजना अघि सारेकी छन् । ‘कृषकको पसिना अब घाटामा जाँदैन,’ उनले घरदैलोमा भन्ने गरेकी छन् ।
सीमावर्ती क्षेत्रमा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न ‘सर्लाही ब्रान्ड’ का माछा र तरकारीलाई राष्ट्रिय बजारमा स्थापित गर्ने, चिस्यान केन्द्र र आधुनिक प्याकेजिङको व्यवस्था गर्ने प्रतिबद्धता उनको छ ।
घरदैलो अभियानका क्रममा उनले देखेका समस्या स्पष्ट छन्– ऐलानी जग्गाको लालपुर्जा नहुँदा बैंकिङ पहुँच बन्द, पर्याप्त शीत भण्डारको अभाव, दूध र तरकारीको उचित मूल्य नपाउने अवस्था र बाढी–तटबन्धको दीर्घकालीन समस्या । उनले ऐलानी जग्गा समस्या समाधानका लागि नीतिगत पहल गर्ने, साना किसान र साना उद्योगलाई जोड्ने ‘पुल’ बन्ने र कृषि–आधारित उद्योग स्थापनामा सहजीकरण गर्ने योजना सुनाएकी छन् ।
महिला स्वास्थ्य
नीतिमाले आफ्नो घोषणापत्रमा ‘महिला तथा मातृ स्वास्थ्य केन्द्र’ स्थापना, सुरक्षित प्रसूति सेवा, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन र गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालनको प्रतिबद्धता उल्लेख छ । नदी बेल्ट खेतीमार्फत महिला कृषि समूहलाई सशक्तिकरण गर्ने, थारु समुदायका महिलाको हस्तकला उत्पादनलाई बजारसँग जोड्ने र नेतृत्वमा महिलाको सहभागिता बढाउने उनको योजना छ ।
शिक्षा, युवा र पुनर्मिलन
सरकारी विद्यालयमा क्रमशः अंग्रेजी माध्यम, डिजिटल कक्षा र सीपमूलक शिक्षा विस्तार गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने, फरक क्षमता भएका बालबालिकाका लागि विशेष विद्यालय निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् । सर्लाही वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामध्ये एक हो । त्यसले परिवार विखण्डन र सामाजिक जोखिम बढाएको उनी बताउँछिन् । ‘विदेशबाट फर्किएकालाई साना उद्योगमा स्थापित गराएर परिवार पुनर्मिलन कार्यक्रम अघि बढाउँछु,’ उनले भनिन् ।
मतदाताको मनोविज्ञान
सर्लाही–१ मा २२ हजार थारु र करिब त्यति नै मधेसी समुदायका मतदाता छन् । जातीय, सामुदायिक र पार्टीगत ध्रुवीकरण पुरानै रोग हो । तर यसपटक युवा पुस्तामा परिवर्तनको चाहना तीव्र देखिन्छ । लालबन्दीका एक युवा मतदाता भन्छन्, ‘हामीलाई भाषण होइन, काम चाहिएको छ ।’
रोचक प्रतिस्पर्धा
हरेक निर्वाचनमा नयाँ प्रतिनिधि चयन गर्ने इतिहास बोकेको सर्लाही–१ यसपटक पनि परिवर्तन रोज्छ कि परम्परालाई निरन्तरता दिन्छ—यो चासोको विषय बनेको छ । फागुन २१ नजिकिँदै जाँदा गाउँ–टोलमा राजनीतिक बहस चर्किएको छ । घरदैलो, कोणसभा र सामाजिक सञ्जालमार्फत मतदाता तान्ने होड चलिरहेको छ । परम्परागत दललाई पछि पार्दै नीतिमा भण्डारी कार्की उदाउँछिन् कि स्थापित शक्तिले पुनः वर्चस्व कायम गर्छन्, उत्तर मतपेटिकामा सुरक्षित हुनेछ ।































प्रतिक्रिया