काठमाडाैं । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय ‘वी लभ यू फाउन्डेसन’ले भक्तपुरमा आफ्नो ८३०औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “आमाको प्रेम सारा संसारमा” भन्ने नारासहित दुवाकोटस्थित केएमसी अस्पतालमा फाउन्डेसनले सम्पन्न गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सदस्य, परिवार र स्थानीय गरी करिब २५० जनाको सहभागिता रहेको थियो। तीमध्ये ११९ जनाले रक्तदान गरेका थिए।
फाउन्डेसनका सदस्यहरूले “रगत कृत्रिम रूपमा बनाउन नसकिने अमूल्य जीवन स्रोत भएकाले छिमेकीहरूको जीवन बचाउन योगदान पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको” बताएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रम विभिन्न क्षेत्रमा निरन्तर सञ्चालन गरिनेछ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले फाउन्डेसनले दुई दशकदेखि सामाजिक परिवर्तनका लागि काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा नगरपालिकाको सहयोग रहने बताए । “मानव जीवन बचाउन गरिएको यो कार्य प्रशंसनीय छ,” उनले भने।
फाउन्डेसनका अनुसार रक्तदान अभियान एक जनाबाट सुरु भएर समुदायभर फैलिने “जीवन बचाउने अभियान” हो, जसले रक्त अभाव समाधान गर्न र विश्व स्वास्थ्य संगठनले प्रोत्साहन गरेको स्वैच्छिक रक्तदान संस्कृतिलाई विस्तार गर्न सहयोग पुर्याइरहेको छ।
कोरियाबाट सुरु भएको यो कार्यक्रम विगत २० वर्षदेखि विभिन्न देशमा सञ्चालन हुँदै आएको छ । फाउन्डेसनका अनुसार गत वर्षसम्म ६४ देशका करिब १ लाख ३७ हजार सहभागीमध्ये ६२ हजारभन्दा बढीले रक्तदान गरेका छन्।
संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभागको साझेदार संस्था रहेको वीलभयूले नेपालमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विपद् राहतलगायत क्षेत्रमा विभिन्न स्वयंसेवा गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।































प्रतिक्रिया