कास्कीमा मतदाता शिक्षा सञ्चालन-कति भयो प्रभावकारी ?

कास्कीमा मतदाता शिक्षा सञ्चालन-कति भयो प्रभावकारी ?

केन्द्रबिन्दु
9
Shares

कास्की। कास्कीमा मतदाता शिक्षा कार्यक्रमलाई निर्वाचन कार्यालयले प्राथमिकताका साथ सञ्चालन गरेको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सही तरिकाले मतदान गर्न मतदातालाई सिकाउन गत फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

उनका अनुसार मत बदर नहोस् भन्ने उद्देश्यले मतदाता शिक्षा स्वयंसेवकमार्फत नमूना मतपत्रका आधारमा पाँच पालिकाका ७२ वटै वडामा फागुन १७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेछ। विसं २०७९ को निर्वाचनमा कास्कीमा पाँच प्रतिशत मत बदर भएको थियो। त्यसबेला प्रतिनिधिसभा सदस्यका लागि एक लाख ७८ हजार ८०६ मत खसेकामा सदर मत एक लाख ७० हजार ३४४ र बदर मत आठ हजार ४६४ रहेको निर्वाचन कार्यालयले जनाएको छ।

मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउनेलगायत कारणले मत बदर हुने गरेको छ। सूचना अधिकारी न्यौपानेका अनुसार विगतका निर्वाचनमा बदर मतको प्रतिशत उच्च देखिएको छ। मत बदर हुन नदिन सबै वडामा नमूना मतपत्रमार्फत मतदान गर्ने तरिका सिकाउने कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचनका लागि दुई हजार १९० कर्मचारी खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कर्मचारीलाई शुक्रबार र शनिबार नियुक्तिपत्र वितरण गरिएको छ। कास्कीमा १५३ मतदान स्थल र ३६३ मतदान केन्द्र रहेका छन्। दुई अस्थायी मतदान केन्द्रसहित कूल ३६५ मतदान केन्द्रमा कर्मचारी परिचालन हुनेछन्।

मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिन तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ। कारागारका कैदीबन्दीका लागि कारागारमै मतदान केन्द्र तोकिएको छ। मतदानमा नखटिने कर्मचारीले जिल्ला समन्वय समितिमा तोकिएको केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्नेछन्।

जिल्लामा १८ राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्रतर्फ ४४ पुरुष र पाँच महिला गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा छन्। कास्कीमा कुल मतदाता संख्या तीन लाख ८ हजार ५७२ रहेको छ। विसं २०७९ को निर्वाचनमा दुई लाख ९१ हजार ५६८ मतदाता थिए।

Logo