काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् । हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिएको सन्देशमा उनले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै यस पर्वबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मुलुकको समृद्धिमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना दिएकी छिन् ।
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले समस्त हिन्दू धर्मावलम्वीको पवित्र पर्व महाशिवरात्रिका माध्यमबाट नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । उनले शिवरात्रिका अवसरमा आज दिएको सन्देशमा यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन् । शिवरात्रिका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । उनले यस्ता चाडपर्वले सम्पूर्ण नेपाली बीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गरेका छन् ।
रासस































प्रतिक्रिया