महेन्द्रनगर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रदेश कार्यालय जनकपुरधामले यस वर्ष महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्वीन्टल धान खरिद गरेको छ।
कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार ३०० किसानबाट चार करोड २३ लाख २४ हजार रुपैयाँ बराबरको धान खरिद गरिएको हो। गोदाम भरिएपछि हालका लागि धान खरिद रोकिएको छ । प्रतिक्वीन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाका दरले धान खरिद गरिएको छ ।
गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरिएको थियो। यस वर्ष धनुषा र महोत्तरीका ठूलो सङ्ख्यामा किसानले धान बिक्री गरेको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए। बजार मूल्यभन्दा कम्पनीको खरिद मूल्य बढी भएकाले किसानको सहभागिता उच्च देखिएको छ ।
कम्पनीले प्रतिकिसान अधिकतम ५० क्वीन्टलसम्म धान खरिद गर्दै आएको छ। स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट ५५ क्वीन्टलसम्म खरिद गरिएको साहले बताए। धानको भुक्तानी सरकारमार्फत सम्बन्धित किसानको बैंक खातामा पठाउने व्यवस्था गरिएको छ ।
धान बिक्री गर्ने किसानमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसानको सङ्ख्या बढी रहेको छ ।
यस वर्ष १३ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखिएको थियो। तर भण्डारण स्थानको अभावका कारण लक्ष्य पूरा नहुँदै खरिद रोकिएको छ। धान खरिदअघि गुणस्तर परीक्षण गरी गुणस्तरीय धान मात्र खरिद गरिएको गुणस्तर शाखाले जनाएको छ ।































प्रतिक्रिया