काठमाडौं
पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख खर्च भएको भन्दै सो रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । २६ असार ०७३ को मन्त्रिपरिषद बैठकको निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा गरी ७३ लाख खर्च भएको निवेदन सहित तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा बिल पेस गरेका हुन् ।
सरकारले शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गर्दा लागेको खर्च बिलका आधारमा पासवानलाई उपलब्ध गराउने निर्णयसहितको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । तर पूर्वमन्त्री पासवानले उपचार गर्दा लागेको भन्दा दोब्बर बिल पेस गरेपछि मन्त्रालयका कर्मचारी रकम दिने या नदिने भन्नेमा अन्योलमा देखिएका छन् । उनलाई प्यांक्रियाजमा समस्या भएकाले उपचार सुरु गरिएको थियो । काठमाडौंको शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गरेको मात्र होइन खाजा खाएको, यात्रा गरेको र अन्य खर्च पनि उनले मागेका छन् ।
कर्मचारीको कुरा सुनेर सोफामै ढले पासवान
आफूले निवेदनमा दाबी गरे अनुसार तत्काल रकम निकासा गर्न भन्दै स्वास्थ्य मन्त्रालय पुगेका पासवान कर्मचारीको कुरा सुनेर सोफामै ढलेका थिए । कर्मचारीले उपचार खर्च भन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउन कठिन भएको बताए पछि उनी रिंँगटा लागेको भन्दै मन्त्रालयको सोफामै ढलेका थिए । ‘उपचार खर्चको नाममा ७३ लाखको बिल पेस गरे पनि रकम नपाउने जस्तो देखेपछि प्रेसर लो भएको भन्दै सोफामा ढल्नुभयो,’ मन्त्रालयका कर्मचारीले भने ।
भारतीय नोट सटही १५ लाख दुई हजार ९९४ (एक सय ६० नेपाली बराबर सय भारु हुन्छ ।) तर बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नु परेकाले सो पैसा पनि सरकारले दिनु पर्ने उनको माग दाबी छ । कालोबजारमा साटेको पैसा केमा खर्च भयो भन्ने विवरण भने उल्लेख छैन । औषधि उपचार लगायत सम्पूर्ण खर्च अलग्गै छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया