निकुञ्जबाट बस्तीमा हात्ती, मरघटिया र वैशाखा शिविरमा लाखौँको क्षति

निकुञ्जबाट बस्तीमा हात्ती, मरघटिया र वैशाखा शिविरमा लाखौँको क्षति

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट भएको छ।

शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया र वैशाखा शिविरमा पछिल्ला दिनयता हात्तीको बथानले क्षति पु-याइरहेको छ। मरघटिया शिविरका एक परिवारले राति हात्ती घरभित्र पसेपछि भागेर ज्यान जोगाएका थिए। घरमा भर्खरै भित्राइएका दुई बोरा चामल, दस किलो मसुरको दाल र पाँच किलो हल्दी नष्ट भएको छ।

स्थानीयका अनुसार छावा सहितको हात्तीको ठूलो बथान बस्तीमा प्रवेश गरेको थियो। केही हात्ती बस्ती हुँदै निकुञ्ज फर्किए पनि दुई वटा हात्तीले घर भत्काएर अन्नपात नष्ट गरेका थिए।

वैशाखा शिविरमा हात्तीले खेतबालीमा क्षति पु¥याइरहेको छ। चार दिनदेखि साँझ पर्नासाथ हात्ती खेतमा प्रवेश गर्ने गरेका छन्। स्थानीय किसानका अनुसार आफ्नो दश कठ्ठा जमिनको गहुँबाली नष्ट भएको छ भने आठजना किसानको झन्डै दुई बिघा गहुँबाली चार दिनमै नष्ट भएको छ। हात्ती साँझ पसी बिहान मात्र निकुञ्ज फर्कने गरेको बताइएको छ।

स्थानीयले हात्ती नियन्त्रणका लागि वडा कार्यालय र निकुञ्ज प्रशासनलाई जानकारी गराए पनि प्रभावकारी पहल नभएको गुनासो गरेका छन्। रातभर त्रासमै बस्नुपरेको र कहिले घरभित्र हात्ती पसेला भन्ने डर रहेको उल्लेख गरिएको छ।

निकुञ्जसँग सटिएका मरघटिया र वैशाखा शिविरमा हरेक वर्ष हात्तीले बालीनाली तथा संरचनामा क्षति पु¥याउने समस्या दोहोरिने गरेको छ। बाली पाक्ने समयमा हात्तीको आवतजावत झन् बढ्ने गरेको स्थानीयले बताए।

स्थानीयले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार, सोलार बत्ती र सायरन जडान लगायत उपायको माग गरेका छन्। मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्।

Logo