सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा प्रयोग भइरहेको गाडीबाट मदिरा र खाद्यान्न बरामद गरेको छ । बरामत भएपछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको छ ।
बनगाड–कुपिण्डे नगरपालिका अन्तर्गत सल्लिबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीप सोमबार बिहान करिब ८ बजे चेकजाँचका क्रममा रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाडीबाट ७ कार्टुन रक्सी, २ कार्टुन बियर, २ बोरा चामल र ३ कार्टुन खानेतेल फेला परेको छ ।
प्रहरीले गाडी पार्टीको प्रचारमा प्रयोग भइरहेको र त्यसमा झण्डा, ब्यानर तथा साउण्ड सिस्टम जडान गरिएको जनाएको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मदिरा तथा खाद्यान्न बोकेर हिँडेको भेटिएपछि गाडी नियन्त्रणमा लिइएको हो।
चालक नन्द रानाले सामग्री स्थानीय व्यापारीका लागि ढुवानी गरिएको दाबी गरेका छन्। रास्वपा नगर सभापति लोकेन्द्र वलीले भने पार्टीलाई यसबारे पूर्वजानकारी नभएको बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































प्रतिक्रिया