किन मौन छन् देउवा, के हुन् उनका रणनीति ? [भिडियो]

किन मौन छन् देउवा, के हुन् उनका रणनीति ? [भिडियो]


काठमाडौं । गत निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा उदाएको नेपाली काँग्रेस यतिबेला आन्तरिक शक्ति–सन्तुलनको जटिल चरणबाट गुज्रिरहेको छ । चुनाव नजिकिँदै गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । त्यसैगरी उनकी धर्मपत्नी आरजु राणा देउवा पनि यति बेला भारतमा धार्मिक भ्रमणमा छिन‍् । देउवा पत्नी आरजु मध्यप्रदेशको अगरमालवा जिल्लाको नलखेडास्थित बंगलामुखी मन्दिरमा विशेश हवन र अनुष्ठान गरि ओमकारेश्वर उज्जयन महाकालेश्वर दर्शन गरेर थप उपचारका लागि दिल्लीमै छन् ।

देउवा दम्पतीले स्पष्ट रुपमा आफूहरुलाई निर्वाचनको कुनै पनि सरोकार नभएको सन्देश दिएका छन् । तत्कालिन विशेष महाधिवेशन पक्षधरले आसन्न निर्वाचनमा देउवाको अनुहार देखाउदा काँग्रेसको चुनावी माहौल थप प्रतिकुल हुने भनेर दावी गरेपछि हाल उनीहरु मौन बसेको स्रोतको भनाई छ । देउवा निर्वाचनको अघिल्लो दिन फर्कने कार्यक्रम छ । उनी निकट धेरै नेता यतिवेला मौन छन् ।

वर्तमान सभापति गगनकुमार थापाले समेत वरिष्ठ नेताहरू चुनावी अभियानमा सक्रिय नदेखिएको बताएका छन् । हुन पनि नेपाली काँग्रेसभित्र यतिवेला देउवाको हैसियत के हो यकिन छैन । उनले आफूलाई पार्टी सभापतिको रुपमा लिन्छन् वा निवर्तमान ? अनि यतिवेला उनी पार्टीको केन्द्रिय सदस्य छन कि छैनन् ? उनी समर्थक एक नेता भन्छन्– पार्टीमा देउवाको यतिवेला के र कस्तो हैसियत छ भन्ने यकिन छैन, त्यस्तो मान्छेले के बोल्ने ? कसरी बोल्ने ? विज्ञप्ति त निकाल्ने तर के हैसियतमा ? उनी फागुन २१ गते भोट हाल्न डडेल्धुरा जान्छन् कि जाँदैनन् भन्ने पनि यकिन छैन ।

काँग्रेसमा एकातिर नयाँ नेतृत्वप्रतिको उत्साह छ भने अर्कोतिर पार्टीभित्रको ठूलो समूहको मौनता रहस्यमय देखिन्छ । नयाँ नेतृत्वको उत्साहले चुनाव जित्न कति सहयोग गर्छ र पार्टी भित्रको आन्तरिक विवादको असर कति पर्छ, यकिन छैन । यसले पार्टीको आगामी चुनावी प्रदर्शनमा कस्तो असर पार्छ भन्ने चासो स्वभाविक छ ।

मौनतामार्फत शक्ति संरक्षण रणनीति

देउवाले सार्वजनिक अभिव्यक्तिबाट आफूलाई टाढा राखेर सभापति गगनकुमार थापासँग द्धन्द्धमा नजाने नीति लिएका छन् । महाधिवेशनलगत्तै यदि उनी आक्रामक रूपमा प्रस्तुत भएको भए पार्टी फुटको सम्भावना बलियो हुन सक्थ्यो । त्यसैले उनले संयमित र जिम्मेवार नेताको छवि कायम राख्ने बाटो रोजेका छन् । यो मौनताले उनलाई कानुनी प्रक्रियाको अन्तिम परिणाम पर्खिने समय पनि दिएको छ । निर्वाचन लगत्तै सर्वाेच्च अदालतले काँग्रेसभित्रको विवादको सम्बन्धमा सुनुवाई गर्ने तयारी गरेको छ । सतहमा मौन देखिए पनि यसको अन्तरार्थ रणनीतिक धैर्य हो- परिस्थितिको मूल्यांकन गर्दै सही समयको प्रतिक्षा । भाग्यमा विश्वास गर्ने देउवा आफ्नो खराब समय छिट्टै सकिने र आफू अनुकूलको समय आउनेमा ढुक्क छन् ।

संगठनात्मक पकड कायम राख्ने रणनीति

विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन भए पनि देउवाको प्रभाव केन्द्रदेखि प्रदेश र जिल्लास्तरसम्म कायम रहेको आंकलन गरिन्छ । प्रदेश सभापति र जिल्ला सभापतिमार्फत संरचनागत पकड जोगाइराख्ने प्रयास स्पष्ट देखिन्छ । केन्द्रीय समितिमा आफ्ना समर्थकहरूको उपस्थितिलाई सक्रिय राख्दै उनले निर्णय प्रक्रियामा अप्रत्यक्ष प्रभाव कायम राख्ने बाटो रोजेका छन् । जस्तो विशेष महाधिवेशनको समयमा पनि अधिकांश केन्द्रिय सदस्य उनको पक्षमा थिए, सातमध्ये पाँच प्रदेश सभापति उनको पक्षमा थिए र ७७ जिल्ला सभापतिमध्ये ५१ जिल्ला सभापति उनको पक्षमा थिए । तर वहुमत महाधिवेशन प्रतिनिधि भने उनको विपक्षमा पुगे । अप्रत्यक्ष प्रभाव कायम राख्ने रणनीतिअनुसार उनले निकटका नेताहरूलाई निर्वाचन लड्न प्रोत्साहित गरेका छन् र टिकट वितरणबारे सार्वजनिक असन्तोष व्यक्त गरेका छैनन् । यसले उनलाई ‘सन्तुलनकर्ता शक्ति’का रूपमा स्थापित राख्छ । त्यसैले उनी अन्य राजनीतिक दलका शीर्ष नेताभन्दा फरक छन् ।

रणनीतिक दूरी

देउवाले नयाँ नेतृत्वसँग खुला संघर्षको सट्टा रणनीतिक दूरी कायम राखेका छन्। यसले नयाँ नेतृत्वलाई आफ्नो कार्यक्षमता प्रमाणित गर्ने अवसर दिन्छ भने देउवा पक्षलाई पुनः संगठित हुने समय पनि प्रदान गर्छ । यदि गगन थापा नेतृत्वमा नेपाली काँग्रेसले राम्रो नतिजा ल्याउन सकेन भने पार्टीमा आफ्नो प्रभाव बढ्ने देउवाको आँकलन छ । समय अनुकूल बन्दै गएपछि हस्तक्षेप गर्ने सम्भावनालाई खुला राख्नु नै उनको दीर्घकालीन राजनीतिक शैलीसँग मेल खान्छ । यो रणनीतिले भविष्यमा वार्ता, सहकार्य वा शक्ति साझेदारीका लागि आधार तयार पार्ने उनको बुझाई छ ।

चुनावी सन्तुलन रणनीति

देउवाले आफ्ना निकटका नेताहरूलाई चुनावी प्रतिस्पर्धाबाट रोकेका छैनन् । जस्तो, विशेष महाधिवेशनको विरोध गरेर देउवालाई साथ दिएका नेताहरु बिमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद लगायतका नेताहरु गगन थापाको हस्ताक्षर भएको टिकट लिएर यतिवेला चुनावी अभियानमा छन् । यसले पार्टी कमजोर पार्ने उद्देश्य नरहेको स्पष्ट सन्देश दिन्छ। व्यक्तिगत असन्तोषभन्दा पार्टी ठूलो भन्ने धारणा स्थापित गर्दै उनले कार्यकर्तामाझ जिम्मेवार नेताको छवि कायम राख्न खोजेका छन् । हुन पनि आफ्नो राजनीतिक करियरको उत्तरार्धमा रहेका देउवा पार्टी फुटको अपजस लिने पक्षमा छैनन् । यसरी उनी चुनावी परिणाम जे आए पनि आफ्नो राजनीतिक स्थान सुरक्षित राख्ने स्थितिमा छन् । हार भए दोषबाट टाढा र जित भए श्रेयको भागीदार ।

नयाँ सभापतिसँग चित्त दुखाई

जेनजी आन्दोलन अगाडिसम्म देउवा र गगनको राम्रो सम्बन्ध थियो । तर जेनजी आन्दोलनमा आफूमाथि आक्रमण हुँदा र सम्पती नष्ट हुँदा गगन र उनको समूहले एक शब्द पनि नबोलेको गुनासो देउवाको छ । बरु उल्टै देउवाको सम्पती छानविन हुनुपर्छ भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले उनको मन कुडिएको छ । विशेष महाधिवेशन अगाडि र पछाडी आफूसँग गगन थापाले कुनै पनि परामर्श नगरेको उनको गुनासो छ । त्यसैले थापासँग संवाद नगर्ने उनको अर्काे रणनीति हो ।

निर्णायक हस्तक्षेपको प्रतिक्षा रणनीति

देउवाको राजनीतिक शैली प्रायः अन्तिम समयमा निर्णायक भूमिका खेल्ने रहेको छ । पटक पटक प्रधानमन्त्री हुँदा पनि उनले यही रणनीति उपयोग गरेका थिए । यदि नेतृत्व संकट गहिरियो भने मध्यस्थकर्ता वा समाधानकर्ता बन्ने सम्भावना खुला राखिएको देखिन्छ । कानूनी वा संगठनात्मक निर्णयपछि पुनः सक्रिय हस्तक्षेप गर्ने विकल्प उनले सुरक्षित राखेका छन्। उनी सर्वाेच्च अदालतले आफूलाई न्याय दिनेमा विश्वस्त छन् । निर्वाचनको मुखमा उनी बोल्ने पक्षमा छैनन् तर निर्वाचन लगत्तै उनले विशेष महाधिवेशनलाई मान्यता नदिने उनी निकटका नेताहरु बताउँछन् । त्यसैले निर्वाचनपछि नेपाली काँग्रेस भित्रको विवाद सार्वजनिक रुपमा नै बाहिर आउने सम्भावना रहेको छ ।

अन्त्यमा, देउवाको मौनता कमजोरीभन्दा बढी रणनीतिक धैर्यको संकेत हो । उनको लक्ष्य सम्भवतः तीन पक्षमा केन्द्रित छ- पार्टी फुट हुन नदिनु, संरचनागत प्रभाव जोगाइराख्नु, उपयुक्त समयमा निर्णायक हस्तक्षेप गर्ने अवस्था सुरक्षित राख्नु ।

यदि आन्तरिक मतभेद व्यवस्थापन भयो भने नेपाली काँग्रेस ले यो संक्रमणलाई अवसरमा रूपान्तरण गर्न सक्छ । तर मतभेद गहिरिँदै गए मौनता नै निष्क्रियता ठहरिने जोखिम पनि उत्तिकै प्रबल छ। आगामी फागुन २१ को निर्वाचनले देशको मात्र होइन्, नेपाली काँग्रेस, सभापति थापा र देउवाको पनि भविश्य निर्धारण गर्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको राप र तापमा नेपाली काँग्रेसले कति सिट ल्याउला ? त्यसका लागि भनें हामीले निर्वाचन पछिको परिणाम नै पर्खनुपर्दछ ।

Skip This
Skip This
Logo