काठमाडौँ । प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि देशभर शान्तिपूर्ण वातावरण बनेको पाइएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले सार्वजनिक गरेको प्रतिवेदनमा मतदाता मतदानप्रति उत्साहित देखिएको उल्लेख छ ।
जियोकले निर्वाचनपूर्वको तयारीबारे स्थलगत अनुगमन तथा आफ्नो कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्र अवस्था सकारात्मक रहेको निष्कर्ष निकालेको हो । संस्थाले मतदान केन्द्रको तयारी, सुरक्षा व्यवस्थापन, राजनीतिक दलको गतिविधि र प्रशासनिक समन्वयको अवस्थाबारे अध्ययन गरेको जनाएको छ ।
महासचिव कृष्णमान प्रधानका अनुसार विभिन्न जिल्लामा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी तथा प्रशासनिक अधिकारीसँगको छलफलपछि प्रतिवेदन तयार गरिएको हो ।
प्रतिवेदनमा निर्वाचन शान्त, स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न हुने आधार तयार भएको उल्लेख छ । राष्ट्रिय पर्यवेक्षक प्राध्यापक चिरञ्जीवी खनालले मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन भइसकेको तथा आवश्यक सामग्री पुगिरहेको जानकारी दिए । उनका अनुसार यसपटक दलहरूले ठूला आमसभा भन्दा घरदैलो केन्द्रित प्रचारमा जोड दिएका छन् ।
राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले हालसम्मको अवस्थाले निर्वाचन शान्तिपूर्ण हुने संकेत गरेको बताए । उनका अनुसार अधिकांश मतदान केन्द्रमा आवश्यक पूर्वाधार र व्यवस्थापन पूरा गरिएको छ ।
अर्का पर्यवेक्षक गणेशमान प्रधान र डा. मिनेन श्रेष्ठले विद्यालय तथा वडा कार्यालय भवनमा स्थापना गरिएका मतदान केन्द्र सामान्यतया मतदातामैत्री देखिएको जानकारी दिए ।
जियोकले सातै प्रदेशका ३६ जिल्लाका २५० स्थानीय तहमा करिब ४०० पर्यवेक्षक परिचालन गरेको छ । प्रतिवेदनमा प्रशासनिक तथा सुरक्षात्मक तयारी सन्तोषजनक रहेको र प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्त रहेको उल्लेख गरिएको छ ।





























प्रतिक्रिया