रसुवा
रसुवाको सिस्नेरीमा शनिबार आगलागी हुँदा एकै घरका दुई दिदी बहिनी सहित तीन बालिकाको जलेर मृत्यु भएको छ । सदरमुकाम धुन्चे देखि ३० किलोमिटर दक्षिण नौकुण्ड गाउँपालिका –५ सिस्नेरीमा स्थानिय वीरबहादुर मोक्तानको अस्थायी घरमा आगलागी हुँदा उनका दुई छोरी सहित जलेर तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
दिउसो भएको आगलागीमा परि मोक्तानका दुई छोरीहरु ३ वर्षीया मंगलीमाया र ७ वर्षीया रिफुला तथा उनका छिमेकी दाजु धनबहादुर मोक्तानकी ६ वर्षिया छोरी अस्मिता मोक्तानको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक शरतकुमार थापाक्षेत्रीले बताए ।
घरका अभिभावक आफन्तको घेवामा गएका वेला शनिबार स्कूल बिदा समेत भएकाले बालिकाले लाइटर बाल्ने क्रममा मकैको थ्रुप्रोबाट आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगजनीमा परि १० मुरी धान, सात मुरी कोदो र दुई मुरी मकैका साथै तीन लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको रसुवा प्रहरीले जनाएको छ । तीनै जना बालिकाको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । स्कुले तीन बालिकाको निधन भएपछि रसुवाको सिस्नेरी गाउंको मोक्तान परिवार शोकमा डुबेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया