चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा लामो समयपछि घडियाल गोही देखिएको छ। केही वर्षअघिसम्म देवघाट आसपास गोही देखिने चर्चा हुने गरे पनि पछिल्ला दशकमा दुर्लभ बनेको थियो।
स्थानीय उपेन्द्र पण्डितले मलामी जाने क्रममा देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल देखेपछि यो जानकारी बाहिरिएको हो। मलामी गएका अन्य व्यक्तिहरूले पनि गोही देखेको बताएका छन्। केही दिनअघि स्थानीय बोटे समुदायले पनि नदी किनारमा गोही देखिएको बताएका थिए।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार घडियाल सफा बग्ने पानीमा बस्ने र माछा खाने प्राणी हो। नदीमा बढ्दो प्रदूषण, मानवीय अतिक्रमण र माछाको कमीका कारण यसको संख्या घट्दै गएको छ ।
स्थानीय बोटे समुदायका अनुसार देवघाट क्षेत्रमा करिब ३५ वर्षदेखि घडियाल देखिएको थिएन। अहिले देखिएको गोही यहीँको रैथाने हो वा अन्यत्रबाट आएको हो भन्ने विषयमा अध्ययन गरिने बताइएको छ ।
घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा प्रजनन केन्द्र सञ्चालनमा छ । नदी किनारका जोखिमयुक्त गुँडबाट अण्डा संकलन गरी बच्चा हुर्काएर पुनः नदीमा छाड्ने काम हुँदै आएको छ ।
गत पुसमा सार्वजनिक गणनाअनुसार राप्ती नदीमा २३१ र नारायणी नदीमा १३५ घडियाल फेला परेका छन्। देवघाटमा पुनः घडियाल देखिनुलाई संरक्षणको दृष्टिले सकारात्मक संकेतका रूपमा हेरिएको छ ।





























प्रतिक्रिया