भक्तपुर । नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुर क्षेत्र नं. २ को निर्वाचन परिणामलाई आत्मसाथ गर्दै हार स्वीकार गरेका छन् ।
अन्तिम चुनावी नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
बस्नेतले लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम र सर्वोपरि हुने उल्लेख गर्दै भनेका छन्, “यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्दछु ।” उनले सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाता र चुनावी अभियानमा खटिने पार्टी कार्यकर्ताहरूप्रति विशेष कृतज्ञता समेत व्यक्त गरे ।
निर्वाचनमा पराजित भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा कुनै कमी नआउने बस्नेतले स्पष्ट पारेका छन् । अबको कार्यकालमा आफू र आफ्नो पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा रहने उनको भनाइ छ ।
“राजनीतिमा हार–जित एउटा प्रक्रिया मात्र हो । अब हामी सदन बाहिरबाटै शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र समृद्ध भक्तपुरका लागि निरन्तर आवाज उठाइरहनेछौं,” बस्नेतले लेखेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका जनताको माया र विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको बताउँदै उनले बाँकी जीवन पनि भक्तपुरको विकास र समृद्धिमै समर्पित गर्ने बाचा गरेका छन् । भक्तपुर-२ मा यसपटक रास्वपाका राजीव खत्रीले एमालेका बस्नेतलाई पछि पार्दै जित हासिल गरेका हुन् ।





























प्रतिक्रिया