भक्तपूर।
नेपालीहरुको महान् पर्व दसैं सकिनासाथ तिहार संघारमा आइसकेको छ । बारीमा फुल्ने मखमली, सयपत्री, गोदावरी लगायत झपक्कै फूलेका फूलहरूले पनि तिहारको झल्को दिइरहेको आभास हुन्छ । यही माहोलमा रमाईरहेको छ, भक्तपूरको गुण्डु क्षेत्र । गुण्डुका व्यवसायीहरु यतिबेला धमाधम मखमली फूल टिप्न र माला उन्नमा व्यस्त छन् ।
विशेष गरी तिहारका लागि निकै महत्वपूर्ण मानिने मखमली फूलले नेपालीहरुको सांस्कृतिक महत्व समेत बोकेको छ । सेतो, गाढा, कलेजी तथा हल्का रातो रंगमा फूल्ने मखमली तिहारको भाइटीकामा विशेष प्रयोगमा आउँछ ।
मखमली फूल कहिल्यै नओइलिने भएकोले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाईलाई लामो आयुको कामना गर्दै लगाइदिने गर्छन् ।
संस्कृतमा रक्त मल्लिका भनिने यो मखमली फूल सबैभन्दा भिन्न र सुन्दर भएकोले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहारमा पनि परेको थियो । त्यस समयमा यो नेपालमा प्रसिद्ध रहेको र भारतमा अप्राप्य रहेको प्रतित हुन्छ । तिहार नजिकिँदै गर्दा यसको माग उच्च हुने गरेको छ । यही मागको मध्यनजर गर्दै भक्तपुरको सूर्यबिनायक नगरपालिका ७ गुन्डुमा व्यवसायिकरुपमा गरिएको मखमली फूलको खेती लोभलाग्दो देखिन्छ । हरेक वर्षको तिहारमा गुन्डुका किसानले लाखौँ रुपैयाँको मखमली बिक्री गर्ने गरेका छन् ।
गुन्डुमा तिहार नजिकिएसँगै यहाँको माहोल बेग्लै देखिन्छ । यहाँका फूल व्यवसायीहरु फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ हुन्छन् । वर्षको एक दिन मात्र अर्थात् भाइटीकामा प्रयोग हुने मखमली माला गुन्डुको पहिचान जस्तै बनेको छ । यो वर्ष भने कोभिड–१९ का कारण बजार घट्ने हो कि भन्ने आशंकाबीच यहाँका किसानहरुले यस वर्ष मखमली अघिल्ला वर्षहरुको तुलनामा थोरै रोपेका थिए ।

गुण्डुकी स्थानीय सानुमैया बस्नेतले वर्षेनी ८० देखी ९० हजारसम्मको मखमली बेच्ने गरेकी छिन् । भाडामा जमिन लिएर मखमली रोप्ने गरेकी उनले यसवर्ष भने कोरोनाका कारण थोरै मात्र रोपेकी थिइन् । तर, अघिल्ला वर्षहरु भन्दा यस वर्ष अझै बढी मालाको माग रहेको उनले बताइन् । उनले विदेश लानेहरुका लागि साउन महिनादेखि नै मखमलीको माला बेच्न सुरु गरेको बताइन् । विशेषगरी उनले उनेको माला अष्ट्रेलिया, अमेरिका लगायत देशसम्म पु¥याइन्छ ।
त्यस्तै अर्की स्थानीय राधा थापाले पनि यस वर्ष लकडाउनका कारण मखमली धेरै नलगाएको बताइन् । उनले विगतका वर्षहरुमा २ हजारदेखि ३ हजार वटासम्म माला बेच्ने गर्थिन् भने यस वर्ष ४ सय देखी ५ सय माला पनि पुग्न गाह्रो भएको उनले सुनाइन् । उनले एउटा मालाको २० देखि २५ रुपैयाँमा विक्री गरिरहेकी छिन् । यसवर्ष कोरोनाका कारण चहलपहल कम भएपनि मालाको मूल्यमा भने बृद्धि भएको छ । ‘फूल घट्यो, मूल्य बढ्यो’ उनले भनिन् ।
१० वर्षदेखि मखमली व्यवसायमा लागेकी गीता नगरकोटीको अहिलेको दैनिकी पूरै व्यस्त छ । बिहानैदेखि फूल टिप्न व्यस्त देखिने गीता बिहान ९ बजेसम्म फूल टिप्छिन् । दिउसो चाहिँ माला बनाउनमै व्यस्त हुन्छिन् । तिहारको बेला फूलको माग बढी हुने भएकाले परिवारका सबैजना यही काम गर्छन् ।

त्यतिले नभ्याएदेखि खेताला नै चाहिन्छ फूल टिप्न र माला गाँस्न । साउन महिनादेखी नै अष्ट्रेलिया, अमेरिका, यु.के तिर माला पठाउने गर्छिन् । वर्षेनी १ लाख रकम बराबरको माला बेच्दै आएकी उनले यस वर्ष पनि १ लाखकै माला बेच्ने लक्ष्य राखेकी छिन् ।
कोरोनाको समय भएपनि फूलको व्यवसायमा भने त्यति प्रभाव नपरेको उनले बताइन् । फूलको माग एकदम राम्रो र मूल्य पनि आफूले भनेकै आइरहेकोले उनी अझै उत्साहित छिन् ।

गुन्डुको फूलखेतिका लागि बजारको अभाव छैन । गाडी लिएरै गुन्डु पुग्छन् व्यापारीहरु । यसैबीच व्यवसायी संजय भण्डारी पनि फूल लिन गाडी लिएर गुन्डु पुगेका थिए । जनकपुर स्थायी घर भएका भण्डारी हाल काठमाडौंमा फूलको होलसेल व्यापार गर्छन् ।
मखमलीको धेरै आपूर्ति काठमाडौंमा हुन्छ । यस बाहेक उनले जनकपूर, पोखरातिर पनि पठाउने गरेका छन् । १२ वर्षदेखि फूलको व्यापार गर्दै आएका उनलाई यसवर्ष भने कोरोनाले प्रभाव पारेको छ । तर, समस्या भएपनि परम्परालाई चलाउनका लागि भए पनि मानिसहरु तिहार मनाउँन उत्साहित भएको उनी बताउँछन् ।































प्रतिक्रिया