काठमाडौं । पछिल्लो समय भारतीय उच्च पदस्थ व्यक्ति नेपाल भ्रमणमा आउने क्रम बढेको छ । कात्तिक महिनामा मात्रै भारतीय दुई उच्च पदस्थ व्यक्ति नेपाल भ्रमणमा आइसकेका छन् भने भारतीय विदेश सचिव अबको केही दिनमै नेपाल भ्रमणमा आउने समाचार विवरणहरु सार्वजनिक भएका छन् । भारतीय पक्षले गत वर्षको कात्तिक महिनामा नेपाली भूमि आफ्नो भूभागमा समावेश गर्दै नयाँ नक्सा जारी गरेको थियो । साथै गत वैशाखमा नेपालको भूमि हुँदै जाने पिथौरागढ–लिपुलेक सडकको उद्घाटन समेत गरेपछि काठमाडौं–दिल्ली बीचको दूरी भौगोलिक एवं आत्मिय रुपमै बढ्दै गएको थियो ।
नेपालले पटक पटक भारतीय पक्षले दाबी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो भएको भन्दै पत्र पठाएको थियो । तर भारतीय पक्षले निरन्तर वेवास्ता गर्यो । अन्त्यमा नेपालले गत जेठ ७ मा लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको भूभागलाई समावेश गर्दै नेपालको राजनीतिक एवं प्रशासनिक नक्सा जारी गर्यो । सोही नक्सालाई आधार मानेर पछि संविधान संशोधन समेत गरिएको थियो । नयाँ नक्सा सार्वजनिक भएसँगै चिसिएको नेपाल–भारत सम्बन्धमा नेपाली पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पक्षबाट स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेले बलेको आगोमा घ्यू थप्ने काम गरे । नयाँ नक्सा सार्वजनिक भएपछि नेपाल–भारत बीच लामो समयसम्म उच्चस्तरीय राजनीतिक संवाद हुन सकेन । सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थल नेपालको अयोध्यापुरीमा रहेको दाबी गरे भने भारतीय निशान छापमा सत्यमेव जयते लेखेको छ कि सिंहमेव जयते भन्दै प्रश्न समेत गरे । साथै आफूले नेपालको राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेपछि प्रधानमन्त्रीबाट हटाउन भारतीय राज्य संरचना लागि परेको अधिव्यक्ति समेत दिए ।
यता, भारतीय स्थल सेना प्रमुख नरवणेले चिनियाँ पक्षको साथ पाएर नेपालले नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाए । जसको नेपालमा सदनदेखि सडकसम्म चर्को विरोध भयो । पछि उक्त अभिव्यक्तिलाई उनले सच्याएका थिए । करिब एक वर्षसम्म संवादहिनताको अवस्थामा रहेको नेपाल–भारत सम्बन्धलाई चलायमान बनाउन अहिले भारतीय पक्ष गतिशिल बनेको छ । फलस्वरुपः भारतीय पक्षबाट पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरुको भ्रमण हुने क्रम बढ्दो छ ।
पहिलो भ्रमणः रअ प्रमुख समान्तकुमार गोयल
भारतीय गुप्तचर विभाग रिसर्च एण्ड एनालाइसिस विंग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल गत कार्तिक ५ गते नेपाल भ्रमणमा आएका थिए । उनी विशेष चाटर्ड विमानमा कार्तिक ५ गते अपरान्ह काठमाडौं आएका थिए । रअ प्रमुखले काठमाडौंमा रहँदा राजनीतिक तथा सुरक्षा अधिकारीसँग अनौपचारिक परामर्श गरेका थिए । लामो समयदेखिको संवादहिनताका बेला भएको उनको आकस्मिक भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।
उनी काठमाडौंमा गोप्य भ्रमण सकेर ६ गते स्वदेश फर्किएका थिए । कार्तिक ५ गते दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा आएका गोयल सोही विमानमा बिहीबार नयाँ दिल्ली फर्किएका थिए । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ व्यक्तिसँग गोप्य भेटवार्ता गरेको समाचार विवरणहरु सार्वजनिक भएका थिए । गोयल यसअघि सन् २०१९ को जुलाईमा पनि नेपाल भ्रमणमा आएका थिए । गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको भन्ने समाचार विवरण सार्वजनिक भएपछि दाहालको सचिवालयले विज्ञप्ति जारी गर्दै उक्त कुराको खण्डन समेत गरेको थियो ।
दोस्रो भ्रमणः सेना प्रमुख मनोज मुकुन्द नरवणे
नेपाली सेनाको मानार्थ महारथीको पदवी लिन भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते काठमाडौं आएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी थिइन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवीले सम्मान गरिएको थियो । कार्यक्रममा नरवणेलाई खड्ग तथा सनद–पत्र पनि प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुबै देशका वरिष्ठ अधिकारीहरुको उपस्थिती रहेको थियो ।
सम्मान ग्रहण गरेपछि भारतीय स्थल सेनाध्यक्ष नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचर भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटका क्रममा नरवणेले आफूलाई दिइएको उक्त सम्मानप्रति विशेष आभार प्रकट गरेका थिए । साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रयत्न गर्ने जनाएका थिए । नेपालको तीन दिने भ्रमण पूरा गरी नरवणे २१ गते साँझ भारत फर्किएका थिए । दुई देशबीचको सीमा विवादले सदियौदेखि चल्दै आएको सम्बन्धमा चिसोपन छाएको बेला भएको नरवणेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तेस्रो भ्रमणः भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला
नेपाल भारत बीच बढेको चिसोपनालाई शान्त पार्न भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आउने भएका छन् । उनको भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन । तर भारतीय सञ्चार माध्यमहरुले भने श्रृंगलाको दुई दिने नेपाल भ्रमण आगामी मंसिर ११ गतेका लागि तय भइसकेको दाबी गरेका छन् । गत वर्ष पुसमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रृंगलाले पहिलो पटक नेपाल भ्रमण गर्न लागेका हुन् । नेपाल–भारतबीचको सम्बन्ध संकटमा परेका बेला हुन लागेको उनको नेपाल भ्रमणलाई महत्वपूर्ण रुपमा हेर्न थालिएको छ ।





























प्रतिक्रिया