नैतिकता र इतर पक्षको दबाबमा गगन थापा [भिडियो]

नैतिकता र इतर पक्षको दबाबमा गगन थापा [भिडियो]


काठमाडौं । विशेष महाधिवेशनबाट पार्टी सभापति बनेको करिब एक महिना नबित्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दबाब बढ्न थालेको छ । तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षर गरिएको टिकट लिएर चुनावमा जाँदा पार्टीले हार बेहोर्ने भन्दै कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको थियो । थापाले आफ्नो हस्ताक्षरमा धेरै नयाँ पुस्तालाई टिकट बाँडेका थिए । थापा पक्षको बुझाई शेरबहादुर देउवाको अनुहार लिएर निर्वाचनमा गए भोट नआउने दावी थियो ।

महाधिवेशनपछि ‘नयाँ कांग्रेस’को दाबी गर्दै चुनावमा गएको पार्टीले राम्रो नतिजा ल्याउन सकेन । न त गगन स्वयंले चुनाव नै जिते न त गगनको नयाँ अनुहारले नै भोट तान्यो । यस अगाडिको संसदमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अहिले उल्लेख्य रूपमा कमजोर देखिएको छ । उसो त नेकपा एमाले र माओवादीको पनि हैसियत निकै खस्किएको छ । काँग्रेस यस अगाडिको माओवादीको पोजिसनमा पुगेको छ भने एमाले र माओवादी राप्रपाको हैसियतमा पुगेका छन् ।

यो अवस्थामा कांग्रेसका सभापति गगन थापा द्विविधामा देखिन्छन्- राजीनामा दिने कि नेतृत्वलाई निरन्तरता दिने ?

थापा नेपाली राजनीतिमा नैतिकता, पारदर्शिता र उत्तरदायित्वको पक्षमा आवाज उठाउने नेताका रूपमा चिनिन्छन्। विगतमा पार्टीले चुनावी हार बेहोर्दा उनले पटक-पटक नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका थिए । उदाहरणका लागि २०७४ सालको निर्वाचनपछि एमाले–माओवादी गठबन्धनका कारण कांग्रेसले ठूलो हार बेहोर्दा थापा समूहले नेतृत्वले जिम्मेवारी लिनुपर्ने आवाज उठाएको थियो । यही पृष्ठभूमिमा अहिले जब पार्टीले अपेक्षित सफलता हासिल गर्न सकेन, त्यही मापदण्ड उनीमाथि पनि लागू हुनुपर्छ कि हुँदैन भन्ने बहस उठ्नु स्वाभाविक छ ।

तर यस बहसलाई केवल नैतिकताको एकरेखीय प्रश्नमा सीमित गरेर हेर्न मिल्दैन। थापा विशेष महाधिवेशनबाट सभापति बनेका नेता हुन्, र त्यो महाधिवेशन आफैंमा कांग्रेसको इतिहासमा असामान्य परिस्थिति थियो। लामो समयसम्म पार्टीभित्रको नेतृत्व संकट र गुटबन्दीका कारण संगठन निष्क्रियजस्तै बनेपछि त्यसलाई गति दिन विशेष महाधिवेशन गरिएको थियो ।

कतिपय विश्लेषकहरू भन्छन्, यदि थापाले जोखिम उठाएर नेतृत्व परिवर्तनको पहल नगरेको भए कांग्रेसको अवस्था अझ कमजोर हुन सक्थ्यो ।

विशेष महाधिवेशनपछि कांग्रेसभित्रको गुटीय दूरी भने पूर्ण रूपमा कम हुन सकेन। देउवा पक्ष र थापा पक्षबीचको अविश्वास चुनावभर पनि देखियो । चुनावकै मुखमा देउवा सिंगापुर गएपछि त्यसको मनोवैज्ञानिक असर मतदातामा पर्‍यो । देउवाले न कुनै अपिल सार्वजनिक गरे, न त भोट हाल्न नै गए । धेरैको दाबी अनुसार चुनावी अभियानमा देउवा समूह अपेक्षाकृत मौन रह्यो। कतिपय निर्वाचन क्षेत्रमा अन्तर्घात भएको, असहयोग भएको र उम्मेदवारलाई कमजोर बनाउने प्रयास भएको आरोपहरू सार्वजनिक रूपमा आएका छन्।

यस्तो अन्तर्घात कांग्रेसको इतिहासमा नयाँ भने होइन। २०५१ सालको संसदीय निर्वाचनमा “सन्त नेता” भनेर चिनिने कृष्णप्रसाद भट्टराईलाई काठमाडौं–१ मा पराजित गराउन तत्कालीन पार्टीभित्रकै शक्तिशाली गुट सक्रिय भएको प्रसंग आज पनि चर्चामा आउने गर्छ। त्यसयता पनि कांग्रेसमा अन्तर्घातका अनेक उदाहरणहरू देखिएका छन्। त्यसैले चुनावी हारलाई केवल गगन थापाको व्यक्तिगत नेतृत्व असफलताका रूपमा मात्र व्याख्या गर्नु पूर्ण तस्वीर नहुन सक्छ।

तर अर्कोतर्फ, लोकतान्त्रिक राजनीतिमा हारको जिम्मेवारी नेतृत्वले स्वीकार गर्ने संस्कार पनि महत्वपूर्ण मानिन्छ। विश्वका धेरै लोकतान्त्रिक पार्टीहरूमा चुनावी पराजयपछि नेतृत्वले नैतिक जिम्मेवारी लिने परम्परा देखिन्छ। यही आधारमा थापाको राजीनामा माग्नेहरू तर्क गर्छन्, यदि उनले विगतमा अरू नेताबाट नैतिक जिम्मेवारीको अपेक्षा गरेका थिए भने अहिले आफू पनि त्यही मापदण्डमा उभिनुपर्छ ।

तर थापाका समर्थकहरूको दृष्टिकोण फरक छ । उनीहरूका अनुसार थापाको नेतृत्वमा कांग्रेसले नयाँ पुस्ताको ऊर्जा र आधुनिक राजनीतिक सोचलाई पार्टीभित्र भित्र्याउने प्रयास सुरु गरेको थियो । युवापुस्तालाई आकर्षित गर्ने, संगठनलाई पारदर्शी बनाउने र पार्टीलाई पुनर्जीवित गर्ने प्रयासहरू आरम्भ भएका थिए । यस्तो अवस्थामा नेतृत्व परिवर्तनले पार्टीलाई झन् अस्थिर बनाउन सक्ने उनीहरूको तर्क छ ।

यसबीच थापाका केही रणनीतिक निर्णयहरू पनि आलोचनाबाट मुक्त छैनन् । उदाहरणका लागि मधेशसँग राष्ट्रिय राजनीतिक सम्बन्ध सुदृढ गर्ने सन्देशसहित सर्लाहीबाट चुनाव लड्ने उनको निर्णयलाई कतिपयले राजनीतिक रूपमा जोखिमपूर्ण र रणनीतिक रूपमा त्रुटिपूर्ण मानेका छन्। लोकप्रिय राष्ट्रिय नेताले आफ्नो सुरक्षित राजनीतिक आधार छाडेर जोखिम लिनु साहसी कदम भए पनि परिणामका हिसाबले हानिकारक हुन सक्ने विश्लेषकहरूको भनाइ छ।

तर कांग्रेसको अहिलेको संकट केवल एउटा निर्वाचनको परिणाम मात्र होइन । यो दीर्घकालीन संरचनागत समस्याको परिणाम पनि हो, गुटीय राजनीति, नेतृत्वबीचको अविश्वास, संगठनात्मक कमजोरी र स्पष्ट वैचारिक दिशाको अभाव जस्ता समस्या वर्षौँदेखि पार्टीभित्र विद्यमान छन्। थापाले नेतृत्व सम्हालेको समय तुलनात्मक रूपमा छोटो भएकाले सम्पूर्ण असफलताको जिम्मेवारी एकै व्यक्तिमा थोपर्नु पनि न्यायसंगत नहुन पनि सक्ला । यस्तो अवस्थामा के विकल्प हुनसक्छ ?

पहिलो, नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिने । यसले उनको नैतिक छविलाई अझ बलियो बनाउन सक्छ, तर पार्टीभित्र नयाँ नेतृत्व संकट पनि सिर्जना हुन सक्छ ।

दोस्रो, राजीनामा नदिई संगठनात्मक सुधार र आन्तरिक एकता कायम गर्न थप पहल गर्ने।

तेस्रो, पार्टीभित्र खुला आत्मसमिक्षा प्रक्रिया सुरु गरेर सामूहिक जिम्मेवारीको संस्कार स्थापित गर्ने।

निष्कर्ष

अन्ततः गगन थापाको दुविधा केवल व्यक्तिगत राजनीतिक निर्णयको प्रश्न होइन । यो कांग्रेसको राजनीतिक संस्कार, नैतिकता र लोकतान्त्रिक अभ्याससँग गहिरो रूपमा जोडिएको विषय हो । उनले राजीनामा दिए पनि वा नदिए पनि मुख्य प्रश्न भनेको कांग्रेसले यस हारबाट कस्तो पाठ सिक्छ भन्ने हो।

यदि पार्टीले आत्मसमिक्षा गरेर एकीकृत ढंगले अघि बढ्न सकेन भने नेतृत्व परिवर्तनले मात्र समस्या समाधान गर्ने छैन । त्यसैले अहिलेको बहसलाई व्यक्तिमात्र केन्द्रित बनाउनु भन्दा कांग्रेसको समग्र भविष्यको सन्दर्भमा हेर्न आवश्यक छ। थापाको दुविधा समाधान हुनु मात्र पर्याप्त छैन, कांग्रेसले पनि आफ्नो राजनीतिक दिशा स्पष्ट गर्नुपर्ने बेला आएको छ । अब पार्टीका लागि एउटै विकल्प छ, सकेसम्म छिटो पार्टीको नियमित महाधिवेशन गर्ने । तर देउवा पक्ष भने निर्वाचन आयोगको निर्णय कुर्ने पक्षमा छ । त्यसैले कांग्रेसका लागि आगामी दिनहरु निकै कठिन देखिन्छन् ।

Skip This
Skip This
Logo