इरानका बन्दरगाहमा एक हजार भारतीय नाविक अलपत्र- “जताततै बम बर्सिरहेका छन्, हामीलाई बचाइयोस्”

इरानका बन्दरगाहमा एक हजार भारतीय नाविक अलपत्र- “जताततै बम बर्सिरहेका छन्, हामीलाई बचाइयोस्”

केन्द्रबिन्दु
18
Shares

मुम्बई । अमेरिका, इजरायल र इरानबीच चर्किएको युद्धका कारण इरानका विभिन्न बन्दरगाहहरूमा करिब १,००० भारतीय नाविकहरू ज्यान जोखिममा पारेर अलपत्र परेका छन्।

‘फरवार्ड सिमन्स युनियन अफ इन्डिया’का अनुसार, ती नाविकहरूले पठाएका भिडियो सन्देशहरूमा जताततै विष्फोट भइरहेको र उनीहरू सुरक्षित उद्धारको पर्खाइमा रहेको देखिएको छ।

सार्वजनिक भएको एक भिडियोमा एक नाविकले विष्फोटको ठूलो आवाजका बीच झ्याल बाहिर दन्किरहेको आगो देखाउँदै भनेका छन्, “हामी बन्दर अब्बास पोर्टमा २० जना भारतीयहरू फसेका छौँ। भारत सरकारसँग हाम्रो विनम्र अनुरोध छ— कृपया हामीलाई चाँडोभन्दा चाँडो सुरक्षित उद्धार गर्नुहोस्। जय हिन्द, जय भारत।”

एफएसयुआईका महासचिव मनोज यादवका अनुसार, युद्ध सुरु भएदेखि नै ती नाविकहरू विभिन्न बन्दरगाह र स्पीडबोटहरूमा थुनिएका छन्। “उनीहरूसँग भएको खाद्यान्न र पिउने पानी सकिन लागेको छ। युद्धका कारण कुनै पनि ढुवानी सेवाले उनीहरूलाई रासन पुर्‍याउन मानेका छैनन्,” यादवले बताए।

महाराष्ट्रको लातूरका अभिजित गुन्द्रे नामका एक इन्जिनियरले ह्वाट्सएपमार्फत पठाएको सन्देशमा आफ्नो कम्पनीले कुनै सुरक्षा नदिएको गुनासो गरेका छन्। उनले भनेका छन्, “हामी सात जना भारतीय एउटा स्पीडबोटमा छौँ। हाम्रो जहाज सेन्ट किट्स एन्ड नेभिसको झण्डावाहक हो। यदि हामीलाई युएईको जलक्षेत्रसम्म मात्र पुर्‍याउन सके, हामी त्यहाँबाट घर फर्कन सक्ने थियौँ। भारत सरकार नै हाम्रो अन्तिम आशा हो।”

स्ट्रेट अफ हर्मुज—जहाँबाट विश्वको झण्डै २० प्रतिशत तेल आपूर्ति हुन्छ—इरानले बन्द गरेपछि यो क्षेत्र अत्यन्तै तनावपूर्ण बनेको छ। खाडी क्षेत्रमा कुल २३,००० नाविकहरू प्रभावित भएकोमा १,००० जना इरानी बन्दरगाहमा प्रत्यक्ष खतरामा छन्।

यता, भारत सरकारको बन्दरगाह तथा जहाज मन्त्रालयका विशेष सचिव राजेश कुमार सिन्हाले एक ब्रिफिङमा सरकारले परिस्थितिको सूक्ष्म अनुगमन गरिरहेको बताएका छन्। उनले २८ वटा भारतीय जहाज र ७७८ नाविकहरू फारसको खाडीमा रहेको र उनीहरूलाई आवश्यक चिकित्सा तथा सुरक्षा सहयोगका लागि स्थानीय दूतावासहरूसँग समन्वय भइरहेको जानकारी दिएका छन्। यसमध्ये २४ वटा जहाज स्ट्रिट अफ हर्मुजको पश्चिमी क्षेत्रमा र ४ वटा पूर्वी क्षेत्रमा छन्।

यद्यपि, नाविक युनियनले भने सरकारको प्रयास पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। युनियनले अब इरानी राजदूतसँग प्रत्यक्ष भेट गरी नाविकहरूको सुरक्षित फिर्तीका लागि पहल गर्ने तयारी गरेको छ।

Skip This
Skip This
Logo