म्याग्दी। कपिलवस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपालि दोस्रो पटक आएका छन् । यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि ग्यास्ट्रिकको समस्या कम भएकाले पुनः आएको उनले बताए । तातोपानीमा शरीर डुबाउने र पानी सेवन गर्दा स्वास्थ्यमा फाइदा भएको महसुस गरेको उनको भनाइ छ ।
धवलागिरी गाउँपालिका–३ मुनाका बुद्धिमान पुन छाला सम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएको आइतबार छ दिन भएको छ । सुरुका दिनको तुलनामा स्वास्थ्यमा सुधार हुँदै गएको उनले अनुभव सुनाए ।
चितवनको भरतपुरकी चमेली घर्ती क्षेत्री पछिल्लो दस वर्षदेखि हरेक वर्ष एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने गर्छिन् । खाना नरुच्ने, अपच हुने र ढाड दुख्ने समस्या कम भएकाले नियमित रूपमा तातोपानीमा स्नान गर्न आउने गरेको उनले बताइन् । तातोपानीमा उपचार गर्दा अस्पताल धाउने झन्झट र औषधि किन्नुपर्ने खर्च पनि कम भएको उनको अनुभव छ ।
चालिसे, पुन र घर्ती क्षेत्री जस्तै धेरै सर्वसाधारणका लागि तातोपानी कुण्ड उपयोगी बनेको छ । वार्षिक २० हजारभन्दा बढी सर्वसाधारण नेपालका ७७ वटै जिल्ला तथा विदेशबाट समेत प्राकृतिक उपचारका लागि यहाँ आउने गरेको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताए ।
म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा बिरेनुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी संकलन गरेर बनाइएको पोखरीमा स्नानको व्यवस्था गरिएको उनले जानकारी दिए । बिरेनुनको गन्ध आउने पानीमा स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ तथा चोटपटक सम्बन्धी समस्या निको हुने जनविश्वास रहेको केसीले बताए ।
महिला र पुरुषका लागि स्नानको फरक समय तालिका बनाइएको छ । तातोपानीमा स्नान गर्दा एक जनाको रोग अर्कोमा नसर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । एक पटकमा करिब २५० जनाले स्नान गर्न मिल्ने पोखरी रहेको छ ।
छोटो समय स्नान गर्नेका लागि छुट्टै पोखरी बनाइएको छ भने एकान्तमा स्नान गर्न चाहनेका लागि उपल्लो बजार नजिकै अर्को पोखरी सञ्चालनमा ल्याइएको छ । कुण्डमा स्नान गरेपछि बाक्लो कपडाले शरीर बेरेर न्यानो बनाउने चलन छ । पोखरीमा स्नानसँगै तातोपानी सेवन पनि गर्ने गरिन्छ ।
हाल दैनिक करिब एक हजार दुई सय जनाले तातोपानी कुण्डमा स्नान गरिरहेको व्यवस्थापन समितिका सदस्य मिना जुग्जाली गर्बुजाले बताइन् । बिहान ५ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म महिला र पुरुषका लागि छुट्टाछुट्टै समूह बनाएर स्नानको व्यवस्था गरिएको छ । असोज–कात्तिकदेखि वैशाखसम्मको समय तातोपानी स्नानका लागि मुख्य याम मानिन्छ ।
निर्वाचनका कारण फागुन महिनामा तातोपानी स्नान गर्नेको संख्या केही घटेको थियो । चुनावपछि पुनः तातोपानीमा चहलपहल बढेको छ । १० दिन स्नान गर्न प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क लाग्छ । प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाइन्छ ।
गत वर्ष नेपालका ६६ जिल्ला तथा कोरिया, पोल्यान्ड, युक्रेन, स्कटल्याण्ड, रसिया, जापान र भारतका गरी २० हजार ३४७ जना बिरामी तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार ४०३ र २०७९÷०८० मा १८ हजार जनाले स्नान गरेका थिए ।
तातोपानी कुण्डमा स्नानका लागि आएका पाहुनाका कारण आसपासका होटल र होमस्टे भरिएका छन् । होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सिता घलेका अनुसार साना–ठूला गरी २० वटा होटल सञ्चालनमा छन् । घरका कोठा र ग्यास भाडामा लिएर पाहुनाले आफैँ पकाएर बस्ने सुविधा पनि उपलब्ध छ । म्याग्दी नदीको असला माछा तातोपानी क्षेत्रको विशेष परिकार मानिन्छ ।





























प्रतिक्रिया