जेरुसेलम । इरानसँगको युद्ध र आफ्नो मृत्युको व्यापक हल्लाका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक भिडियो सार्वजनिक गर्दै आफू सुरक्षित रहेको सन्देश दिएका छन्।
इरानी राज्य नियन्त्रित सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेतन्याहू मारिएको वा गम्भीर घाइते भएको खबर फैलिएपछि उनले जेरुसेलमको बाहिरी इलाकामा रहेको एक क्याफेमा कफी पिउँदै गरेको भिडियो सार्वजनिक गरेका हुन्।
भिडियोमा नेतन्याहूले हिब्रू भाषाको ‘डेड’ (मृत) शब्दलाई ‘पागल हुनु’ वा ‘अत्यधिक मन पराउनु’ भन्ने अर्थमा प्रयोग गर्दै ठट्टा गरेका छन्। उनका सहयोगीले मृत्युको हल्लाबारे सोधेको प्रश्नमा उनले भनेका छन्, “म कफीको लागि पागल (मरिहत्ते गर्ने) छु। र थाहा छ ? म मेरा जनताका लागि पनि पागल छु।”
यसका साथै उनले आफ्नो हातका औंलाहरू देखाउँदै आफू एआईद्वारा निर्मित नभएको प्रमाणित गर्ने प्रयास समेत गरेका छन्। रोयटर्सले उक्त क्याफेको आन्तरिक दृश्य र मिति प्रमाणीकरण गर्दै भिडियो वास्तविक भएको पुष्टि गरेको छ।
यसअघि इरानको ‘रिभोलुसनरी गार्ड्स’ले नेतन्याहूलाई जीवितै भेटिए जुनसुकै हालतमा मार्ने कसम खाएको थियो । गत फागुन १६ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता दुई देशबीचको तनाव चरम सीमामा पुगेको छ। यसैबीच, अमेरिकाले करिब २,५०० मरिन्सलाई मध्यपूर्वमा तैनाथ गरेको छ। इरानी सेनाले ‘स्ट्रेट अफ हर्मुज’ मा माइन बिछ्याउन सक्ने खतरालाई मध्यनजर गर्दै यो रणनीतिक कदम चालिएको हो।
युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य ४० प्रतिशतले वृद्धि भइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुख्य तेल निकासी केन्द्र ‘खार्ग टापु’ मा ठूलो बमबारी गरेको घोषणा गरिसकेका छन्। इजरायलमा हाल कडा सुरक्षा प्रतिबन्धहरू लागू गरिएका छन्, जहाँ विद्यालयहरू बन्द छन् र सर्वसाधारणलाई ‘सेफ रुम’ नजिकै बस्न निर्देशन दिइएको छ।































प्रतिक्रिया