रास्वपाको २ दिने सांसद अभिमुखिकरण कार्यक्रमको तालिका कस्तो छ ?

रास्वपाको २ दिने सांसद अभिमुखिकरण कार्यक्रमको तालिका कस्तो छ ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे प्रशिक्षित गर्न आजदेखि दुई दिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु गर्दैछ ।

परिवर्तनको नेतृत्व, परिणामको राजनीति भन्ने मूल नाराका साथ ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । जनताको विश्वासलाई सार्थक बनाउँदै सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ । कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, सुशासन, पारदर्शिता र जनप्रतिनिधिको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिने रास्वपाले जनाएको छ ।


कार्यक्रमको पहिलो दिन आज पार्टी नेतृत्वबाट औपचारिक उद्घाटन गरिने तय भएको छ । त्यसलगत्तै पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले किनोट मन्तव्य राख्नुका साथै देशको वर्तमान अवस्था र सांसदको भूमिकाबारे प्रस्तुति दिनेछन् । अर्का उपसभापति डोल प्रसाद अर्यालले चुनावी अभियानको अनुभव साट्नेछन् ।

पहिलो दिनको सत्रमा पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणाली तथा पूर्व कानुन सचिव तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन् । यसैगरी, अध्येता डा दोभान राईले लोकतन्त्र र सुशासनमा कृत्रिम बुद्धिमत्ताको प्रभावबारे प्रस्तुति दिनेछिन् साथै पार्टीका पुराना सांसदहरू अशोक चौधरी, शिशिर खनाल, डा. तोसिमा कार्की, सोबिता गौतम, गणेश पराजुली लगायतले पनि आफ्नो संसदीय अनुभव नवनिर्वाचित सांसदहरूलाई सुनाउनेछन् ।
त्यस्तै चैत्र ४ गतेको कार्यक्रम बिहान योग तथा ध्यानबाट सुरु हुनेछ । दोस्रो दिन विशेषगरी बजेट र सुशासनमा केन्द्रित रहनेछ भने पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले योजना तथा बजेट निर्माण प्रक्रिया र पूर्वसचिव प्रताप कुमार पाठकले सुशासनबारे सांसदहरूलाई प्रशिक्षित गर्नेछन् । त्यसैगरी, महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले नयाँ राजनीतिक संस्कारमा सांसदको आचारसंहिता र पार्टीसँगको सम्बन्धबारे प्रष्ट पार्नेछन् । त्यस्तै सांसदहरूद्वारा आगामी एजेन्डाको प्राथमिकता निर्धारण गर्ने समूहगत कार्य पनि सोही दिन हुने भएको छ ।

दुई दिने यस महत्त्वपूर्ण अभिमुखीकरण कार्यक्रमको अन्त्यमा रास्वपाका सभापति रवि लामिछानेले पार्टीको आगामी रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताहरू स्पष्ट पार्दै समापन मन्तव्य राख्ने तालिका रहेको छ भने सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्दै जनताको अपेक्षालाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्न यो कार्यक्रमले सहयोग पु-याउने रास्वपाको विश्वास रहेको छ ।

Skip This
Skip This
Logo