जनकपुर। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको जनकपुरधामलाई स्वच्छ र व्यवस्थित सहर बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै सरसफाइ अभियान अघि बढाउने निष्कर्ष निकालेको हो।
बैठकमा धार्मिक क्षेत्रमा भएको अतिक्रमण हटाउने, फोहर व्यवस्थापन सुधार गर्ने, सरसफाइमा जोड दिने र ट्राफिक व्यवस्थापन सुदृढ गर्ने विषयमा तीनै तहका सरकारबीच समन्वय गर्ने निर्णय गरिएको छ।
जनकपुरधामलाई अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित मठ–मन्दिर, धर्मशाला र पोखरी संरक्षण, सडक सरसफाइ, ट्राफिक व्यवस्थापन, ई–रिक्सा नियमन, हरियाली प्रवर्द्धन र सहर सौन्दर्यीकरणसम्बन्धी कार्ययोजना प्रस्तुत गरिएको छ।
मधेश प्रदेशमा करिब ८४ हजार ई–रिक्सा सञ्चालनमा रहेको जानकारी दिँदै तिनलाई व्यवस्थित गर्न कानुन निर्माणको तयारी भइरहेको बताइएको छ। फोहर व्यवस्थापनमा जनचेतनाको अभावले सहर अव्यवस्थित बन्ने समस्या रहेको पनि औंल्याइएको छ।
बढ्दो जनसङ्ख्या, तीर्थयात्रीको चाप र सहरी विस्तारका कारण जनकपुरधामको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै नगर प्रहरीको सङ्ख्या बढाउन सुझाव दिइएको छ।





























प्रतिक्रिया