काठमाडौँ। काठमाडौँमा ‘अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी’ सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र नेपाल कमर्सियल आर्टिस्ट सङ्घको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन कुलपति नारदमणि हार्तम्छालीले गरे। उनले अक्षरमा आधारित कलाले भावना, बौद्धिकता र सन्देशलाई जोड्ने माध्यम हुने बताए। सन्देश र सूचनालाई सौन्दर्यात्मक ढङ्गले प्रस्तुत गर्न कलाकारहरूले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसालले कला आफ्नो कर्मक्षेत्रसँग जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा नीतिगत सहयोगका लागि सहकार्य गर्न तयार रहेको बताए।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले विभिन्न क्षेत्रका सर्जकलाई समेटेर आयोजना गरिएको कार्यक्रमले ललितकलाको प्रवर्द्धनमा टेवा पुग्ने बताए।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, नेपाल कमर्सियल आर्टिस्ट सङ्घका पदाधिकारी तथा कलाकारहरूको सहभागिता रहेको थियो। प्रदर्शनीमा ४४ वटा कलाकृति राखिएका छन् भने कार्यक्रम चैत ७ गतेसम्म चल्नेछ।































प्रतिक्रिया