काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरूले दुई छुट्टाछुट्टै अन्तरविद्यालय खेलकुद प्रतियोगितामा सानदार प्रदर्शन गर्दै दोहोरो उपाधि जितेका छन्।
विद्यालयको फुटबल टोलीले नेपाल इन्टर-स्कुल स्पोर्ट्स एसोसिएसन लिग फुटबल २०२६ को उपाधि उचालेको छ भने बास्केटबल टोलीले १२औँ जेभियर इन्टरनेसनल यु-१९ बास्केटबल प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्ने सफलता प्राप्त गरेको छ।
फुटबलतर्फको प्रतिस्पर्धामा प्रिमियरले सेमिफाइनल खेलमा द ब्रिटिस स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। फाइनलमा जेम्ससँगको अत्यन्तै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
पेनाल्टीमा ५–४ को रोमाञ्चक जित निकाल्दै प्रिमियरले उपाधि आफ्नो नाममा गर्यो। प्रिमियरका गोलकिपर रेजिश न्यौपाने (आईबीडीपी २) प्रतियोगिताको ‘वेस्ट प्लेयर’ घोषित भए। विजेता टोलीको नेतृत्व कप्तान श्यामिर श्रेष्ठले गरेका थिए भने टोलीलाई सुरज महर्जन, सञ्जय श्रेष्ठ र सुगत श्रेष्ठले प्रशिक्षण दिएका थिए।
त्यसैगरी बास्केटबलतर्फ प्रिमियरको टोलीले प्रतियोगिताभर अपराजित रहँदै दबदबा कायम राख्यो। लिग चरणमा गोल्डेन गेट कलेजलाई ४६–४४, दिव्य कलेजलाई ७०–२१ र जेभियर ‘बी’ लाई ९१–१८ को फराकिलो अन्तरले हराउँदै टोली अगाडि बढेको थियो। प्रिमियरले क्वार्टरफाइनलमा टाइम्स कलेजलाई ५३–११ र सेमिफाइनलमा आयोजक जेभियर कलेजलाई ७३–६१ ले पराजित गर्यो। फाइनल खेलमा बंगलादेशको BKSP टोलीलाई ६७–४३ ले पाखा लगाउँदै प्रिमियरले स्वर्ण पदक हात पार्न सफल भयो।
बास्केटबल टोलीको प्रशिक्षण नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सधिश प्रधानले गरेका थिए। विद्यालयले दुई ठुला प्रतियोगितामा एकैसाथ प्राप्त गरेको यस ऐतिहासिक सफलताले विद्यार्थीहरूको खेलकुदप्रतिको लगाव र विद्यालयको सही प्रशिक्षणलाई प्रमाणित गरेको छ।





























प्रतिक्रिया