कञ्चनपुर,
उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्त नगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ । महेन्द्रनगर इजलासका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेश प्रसाद यादवको संयुक्त इजलासले दुवै जनालाई जनही एक/एक हजार रुपैयाँ जरिवानाको सजायँ गरेको हो । इजलासले एक वर्ष अघि शिक्षक कर्णबहादुर नेगीलाई बिदा स्वीकृति गरी तलब भत्ता दिन र हाजिरी गराउन दिएको परमादेश नमानेपछि शिक्षक नेगीले गत जेठमा अध्यक्ष र निमित्त प्रधानाध्यापक विरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका थिए ।
शिक्षक नेगीको ७५ दिनको विरामी बिदा स्वीकृत गरी तलब भत्ता दिनु पर्ने अदालतको आदेश थियो । अदालतबाट जारी भएको उल्लिखित आदेश अनुसार निवेदकलाई अनावश्यक हैरानी (दुःख) दिने र साधिकार न्यायापालिकाको अन्तिम आदेश (परमादेश) को अवज्ञा गरी परोक्षरुपमा न्यायिक प्रभावकारितामा आँच पु¥याउने कार्य गरी अदालतको अवहेलना गरेको देखिन आएको फैसलामा उल्लेख गरिएको छ । अदालतले तत्कालीन जिल्ला शिक्षा अधिकारी श्याम सिँह धामीलाई नोटिसमा राख्ने सम्बन्धी जानकारी शिक्षा विभागमा पठाउन आदेश दिएको छ । उच्च सरकारी वकिलको कार्यालयले शिक्षा विभागमा जानकारी नपठाएकाले आदेश र निर्णय सहित पठाउन आदेश दिएको हो । विद्यालयका शिक्षक नेगीले अदालतले आफूलाई न्याय दिएको बताए ।
“बिदा बस्दा स्वीकृत नगर्ने, हाजिरी लगाउन नदिने लगायतका कार्य भएपछि अदालतको शरणमा गएको थिएँ”, उनले भने “आदेशले न्याय दिएको छ, यसले म खुशी छु ।” अदालतको आदेश कार्यान्वयन गर्न खोज्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम ढोलीलाई जातीय विभेद गर्दै अध्यक्षबाट हटाइएको थियो । वि.सं. ०७१ मंसिरमा हाजिर भएका शिक्षक नेगीले वि.सं. ०७२ पुस २९ गते देखि ७५ दिनको बिरामी बिदा माग गरेका थिए ।
रासस































प्रतिक्रिया