काठमाडाैं । विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास आपूर्तिको झन्डै पाँच भागको एक भाग ओगट्ने रणनीतिक जलमार्ग ‘हर्मुज जलडमरू’ लाई लिएर इरान र अमेरिकाबीच तनाव चुलिएको छ ।
आइतबार संयुक्त राष्ट्रसंघीय सामुद्रिक निकायका लागि इरानी प्रतिनिधि अली मुसाभीले इरानका “शत्रु राष्ट्र” सँग सम्बन्धित बाहेक अन्य सबै जहाजका लागि यो जलमार्ग खुला रहने स्पष्ट पारेका छन्।
यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनीपछि आएको हो। ट्रम्पले आगामी ४८ घण्टाभित्र उक्त जलमार्ग पूर्ण रूपमा खुला नगरिए इरानका पावर प्लान्टहरूलाई निशाना बनाउने धम्की दिएका थिए। जवाफमा इरानी प्रतिनिधि मुसाभीले “शत्रु देश” सँग आबद्ध नभएका जहाजहरूले तेहरानसँग सुरक्षा समन्वय गरी उक्त मार्ग प्रयोग गर्न सक्ने बताएका छन्।
अमेरिका र इजरायलसँगको जारी द्वन्द्वका कारण इरानले आक्रमण गर्न सक्ने डरले अधिकांश व्यावसायिक जहाजहरूले हाल यो साँघुरो जलमार्ग प्रयोग गर्न छोडेका छन्। यसले गर्दा विश्व बजारमा ऊर्जा संकट निम्तिन सक्ने जोखिम बढेको छ।
मुसाभीका अनुसार इरानले अन्तर्राष्ट्रिय सामुद्रिक संगठनसँग सहकार्य गर्न र खाडी क्षेत्रमा नाविकहरूको सुरक्षा गर्न तयार रहेको बताएको छ। यद्यपि, उनले हालको तनावको मुख्य कारण इरानमाथि भइरहेका अमेरिकी र इजरायली आक्रमणहरू नै भएको दाबी गरेका छन्।





























प्रतिक्रिया