नोरा फतेहीको विवादास्पद गीतकाे राँको भारतीय संसदसम्म पुगेपछि…

नोरा फतेहीको विवादास्पद गीतकाे राँको भारतीय संसदसम्म पुगेपछि…

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही आफ्नो नयाँ चलचित्र ‘केडी: द डेभिल’मा समावेश ‘सर्के चुनर तेरी सर्के’ बोलको गीतका कारण गम्भीर विवादमा तानिएकी छिन्। यो गीतले अश्लीलता फैलाएको भन्दै भारतको संसददेखि सडकसम्म विरोध भइरहेको छ।

उत्तर प्रदेशको अलिगढस्थित ‘मुस्लिम पर्सनल दारुल इफ्ता’ले नोराविरुद्ध फतवा (धार्मिक आदेश) जारी गरेपछि यो मामिलाले धार्मिक मोड लिएको हाे । शाही मुख्य मुफ्ती मौलाना चौधरी इब्राहिम हुसेनद्वारा जारी फतवामा उक्त गीतको सामग्रीलाई इस्लाम विरोधी र समाजका लागि हानिकारक ठहर गरिएको छ ।

इस्लामले शालीनता सिकाउने उल्लेख गर्दै यस्ता अश्लील दृश्य र नृत्यमा सहभागी हुनुलाई ‘हराम’ र ‘गुना-ए-कबिरा’ (ठूलो पाप) भनिएको छ । संस्थाले सरकारसँग यस्ता सामग्री बनाउनेहरूमाथि कडा कारबाही गर्न माग गर्दै जनतालाई बहिष्कार गर्न अपिल गरेको छ।

यस संवेदनशील विवादमा मौनता तोड्दै नोरा फतेहीले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण दिएकी छिन् । उनले आफूलाई हिन्दी संस्करणको अश्लील अर्थका बारेमा कुनै जानकारी नभएको र निर्माण पक्षले धोका दिएको दाबी गरेकी छिन्।

नोराका अनुसार यो गीत तीन वर्षअघि कन्नड भाषामा छायांकन गरिएको थियो। आफूलाई कन्नड भाषा नआउने भएकाले अनुवादका लागि निर्माण टोलीमाथि भर परेको र त्यसबेला बताइएको अर्थमा कुनै अश्लीलता नभएको उनले बताएकी छिन्। साथै, भिडियोमा सञ्जय दत्त र आफू फिचर भएका केही दृश्यहरू ‘एआई’ प्रयोग गरेर बनाइएको गम्भीर आरोप उनले लगाएकी छिन्।

यो विवादको राँको भारतीय संसदसम्म पुगेको छ । समाजवादी पार्टीका नेता आनन्द भदौरियाले सदनमा यो मुद्दा उठाएका थिए । जवाफमा सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले सरकार समाज, महिला र बालबालिकाको सुरक्षाप्रति प्रतिबद्ध रहेको बताउँदै उक्त विवादास्पद गीतलाई युट्युबबाट हटाइसकिएको जानकारी दिएका छन्।

Skip This
Skip This
Logo