काठमाडौं । कोलम्बियाको दक्षिणी अमेजन प्रान्त पुतुमायोमा सैनिक विमान दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पेद्रो सान्चेजले कोलम्बियाको दक्षिणी अमेजन प्रदेश पुतुमायोको पुएर्तो लेगुइजामो नजिकैको काउकाया एयरपोर्टबाट उडेको लकहीड मार्टिन निर्मित हक्र्युलिस सी–१३०एच विमानले मात्र १.५ किलोमिटर उडान भरेपछि जमिनमा ठोक्किएको सामाजिक सञ्जाल एक्समा पुष्टि गरेका हुन्।
विमानमा ११४ जना सेना जवान र ११ जना क्रूसहित १२५ जना सवार थिए । दुर्घटनापछि आगलागी र गोलीगठ्ठाको विस्फोटले जङ्गलको घना क्षेत्रमा धुवाँको मुस्लो उडेको थियो । पुतुमायोका गभर्नर झोन गाब्रिएल मोलीनाले स्थानीय सञ्चार माध्यम नोटिसियास काराकोलसँगको अन्तर्वार्तामा पुष्टि ३४ जनाको शव फेला परेको ७० जना घाइते र २१ जना अझै बेपत्ता रहेको बताएका छन् । उडानको सुरुवाती चरणमा नै यस विमानले उचाई गुमाएर रूखमा ठोक्किएको स्थानियले बताए ।
दुर्घटनास्थल अमेजनको घना जङ्गलमा रहेकाले पहिलो उद्धारकर्ता स्थानीय बासिन्दा नै थिए । पछि सेनाको टोली र दुई उद्धार विमानले बाँकी घाइतेहरूलाई राजधानी बोगोटा र अन्य अस्पतालमा सारेका थिए ।
रक्षा मन्त्री पेद्रो सान्चेजले सामाजिक सञ्जाल एक्समा “यो दुःखद् दुर्घटना भएको र अवैध समूहको कुनै आक्रमणको संकेत नभेटिएको” लेखेका छन् । त्यस्तै उनले उद्धार टोली खटाइएको र अनुसन्धान भइरहेको पनि बताएका छन् ।
राष्ट्रपति गुस्ताभो पेत्रोले पनि “यो दुर्घटना कहिल्यै हुनुहुन्न थियो । हामीले सेनाको आधुनिकीकरणमा कुनै ढिलासुस्ती सहन सक्दैनौं । यदि सिविल वा सैनिक प्रशासनिक अधिकारीहरूले यो चुनौती सामना गर्न सक्दैनन् भने उनीहरूलाई हटाउनुपर्छ भन्दै कडा प्रतिक्रिया दिएका छन् ।
एच–१३० संस्करणको जहाज पहिलो पटक कोलम्बियामा सन् १९६० को दशकमा ल्याएको थियो । यो चार इन्जिन भएको टर्बोप्रप विमान सेना तैनाथी, सामान ढुवानी र अमेजन जस्ता दुर्गम क्षेत्रमा अपरेशनका लागि ल्याइको थियो । त्यस्तै आज दुर्घटना भएको एफएसी१०१६ विमान सन् १९८४ मा निर्मित अमेरिकाबाट सन् २०२० मा ‘एक्सेस डिफेन्स आर्टिकल्स’ कार्यक्रमअन्तर्गत कोलम्बियालाई प्राप्त भएको थियो । सन् २०२१ देखि २०२३ मा यसको पूर्ण संरचनात्मक ओभरहल र इन्जिन अपग्रेड गरिएको थियो । यस्तोमा आज भएको दुर्घटनाबारे रक्षा मन्त्री पेद्रो सान्चेजले प्राविधिक त्रुटि, मौसम वा मर्मतसम्बन्धी कमी के भएको हो भनेर अनुसन्धान सुरु भईसकेको बताएका छन् ।































प्रतिक्रिया