अमेरिका-इरान युद्धको २५औँ दिनमा के-के भए ?

अमेरिका-इरान युद्धको २५औँ दिनमा के-के भए ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको संयुक्त सैन्य कारबाहीको २५औँ दिन मंगलबार युद्धको स्वरूप थप अनिश्चित बनेको छ। एकातर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘सकारात्मक’ वार्ता भइरहेको दाबी गरेका छन् भने अर्कोतर्फ इरानले यसलाई झुटो प्रचार भन्दै इजरायल र खाडी क्षेत्रमा मिसाइल वर्षा जारी राखेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार राती ह्वाइट हाउसबाट जारी गरेको सन्देशमा इरानसँग द्वन्द्व समाधानका लागि “धेरै राम्रो र फलदायी” कुराकानी भइरहेको बताएका थिए । उनले इरान सम्झौता गर्न इच्छुक रहेको संकेत गर्दै इरानको ऊर्जा पूर्वाधार र पावर प्लान्टहरूमा हुने भनिएको आक्रमणलाई पाँच दिनका लागि स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएका थिए ।

तर, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र संसदका सभामुख मोहम्मद बागेर कलिबाफले ट्रम्पको दाबीलाई कडा शब्दमा खण्डन गरेका छन्। कलिबाफले यसलाई विश्वव्यापी तेल बजार र वित्तीय क्षेत्रलाई प्रभावित पार्न रचिएको “फेक न्युज” को संज्ञा दिए । इरानी अधिकारीहरूका अनुसार अमेरिकाले सैन्य तयारीका लागि समय पाउन यस्तो भ्रम फैलाएको हो।

इजरायलमा आक्रमण

मंगलबार बिहानै इरानले इजरायलको उत्तरी क्षेत्रमा मिसाइलको नयाँ लहर प्रहार गरेको छ। इजरायली सेनाका अनुसार ‘डेभिड स्लिङ’ रक्षा प्रणालीमा प्राविधिक समस्या आउँदा दुईवटा ब्यालिस्टिक मिसाइल दक्षिण इजरायलको डिमोना र अराद क्षेत्रमा खसेका छन्, जसमा दर्जनौँ व्यक्ति घाइते भएका छन्।

खाडी क्षेत्रमा तनाव

इरानले साउदी अरब, कुवेत र संयुक्त अरब इमिरेट्सका अमेरिकी सैन्य अखडा र तेल पूर्वाधार लक्षित गरी ड्रोन र मिसाइल प्रहार गरेको छ। साउदीले आफ्नो पूर्वी प्रान्तमा २० वटा ड्रोन विफल पारेको दाबी गरेको छ भने अबु धाबीमा मिसाइलको टुक्रा खस्दा एक भारतीय नागरिक घाइते भएका छन्।

इराकमा कमान्डरको मृत्यु

इराकको अन्बार प्रान्तमा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा इरान समर्थित ‘पपुलर मोबिलाइजेसन फोर्सेस’का वरिष्ठ कमान्डर साद दावाइ मारिएका छन्।

२५ दिनदेखि जारी युद्धका कारण इरानमा मृत्यु हुनेको संख्या १,५०० नाघेको छ। इरानले हर्मुज जलसन्धि बन्द गरेपछि विश्वभर इन्धनको अभाव चुलिएको छ। दक्षिण कोरिया र जापान जस्ता एसियाली मुलुकहरूले ऊर्जा संकट टार्न इन्धन खपतमा कटौती र मूल्य नियन्त्रणका आकस्मिक योजनाहरू सार्वजनिक गरेका छन्।

Logo