कर्णालीको दश वर्षीय शिक्षा योजना निर्माण अन्तिम चरणमा

कर्णालीको दश वर्षीय शिक्षा योजना निर्माण अन्तिम चरणमा

केन्द्रबिन्दु
24
Shares

कर्णाली। कर्णाली प्रदेश सरकारले दश वर्षीय शिक्षा योजना निर्माण गर्ने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२/०८३ देखि २०९१/०९२ सम्मका लागि दश वर्षीय शिक्षा योजना निर्माण गर्न लागेको हो । यसका लागि मन्त्रालयले गठन गरेको कार्यदलबाट अन्तिम मस्यौदा तयार गरी कार्यान्वयनका लागि पेस गर्ने निर्णय गरिएको मन्त्रालयका शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए ।

‘समृद्ध प्रदेश र सुखारी कर्णालीवासीको प्रमुख आधारः गुणस्तरीय शिक्षाको लागि पर्याप्त लगानीमा शैक्षिक पूर्वाधार’ भन्ने दूरदृष्टिसहित योजना निर्माण गरिएको उनले बताए । “ज्ञान, सीप र सकारात्मक सोचयुक्त माध्यमसहित उच्चस्तरको खुसी, दक्ष एवं प्रतिबद्ध जनशक्ति उत्पादन गर्ने ध्येय यसको रहेको छ”, उनले भने, “जसबाट कर्णालीलाई अति कम विकसित प्रदेशबाट विकासोन्मुख प्रदेशका रूपमा स्तरोन्नति हुने अपेक्षा गरिएको छ ।”

उनका अनुसार शिक्षा क्षेत्र योजनामा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको माध्यमबाट विभिन्न क्षेत्रमा सक्षम नेतृत्वयोग्य मानव संसाधन विकास गर्ने उद्देश्य रहेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरबाट सीपयुक्त उद्यमशील जनशक्ति निर्माण, नागरिक साक्षरता शिक्षा र जीवनपर्यन्त सिकाइको अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा क्षेत्रलाई संवैधानिक मौलिक हकहरूको कार्यान्वयन र गुणस्तरीय एवं जीवनपर्यन्त शिक्षालाई सुव्यवस्थित गर्न योजनाबद्ध खाका तयार पारिएको बताए । योजनाको कार्यान्वयनका लागि आगामी दिनमा मन्त्रालयको बजेट प्राथमिकतामा राखिने उल्लेख गर्दै उनले यसबाट अबको दश वर्षमा कर्णाली प्रदेशको शैक्षिक अवस्था कस्तो हुनेछ भन्ने स्पष्ट खाका प्राप्त हुने बताए ।

“योजना कार्यान्वयनका लागि केवल सरकारको भूमिका मात्र नभई सबैको सहयोग अपरिहार्य हुन्छ । यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक, शैक्षिक सङ्घ संस्था, सङ्घ, प्रदेश र स्थानीय तह सबै निकाय जिम्मेवार बन्नुपर्छ,” उनले भने । उनका अनुसार यो योजनाले शैक्षिक क्षेत्रलाई भय, विभेद र दुव्र्यवहारमुक्त तथा सुरक्षित एवं विविधताअनुकूल बनाउँदै विद्यार्थीलाई सिकाइमैत्री तथा प्रविधिमैत्री वातावरण तयार गर्ने उद्देश्य राखेको छ ।

Logo