काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई लोकतन्त्रको आधार मात्र नभई जनताको भरोसाको परीक्षणका रूपमा व्याख्या गरेका छन्। उनले जनताले दिएको मत अब केवल अधिकार नभई जनप्रतिनिधिका लागि गम्भीर जिम्मेवारी भएको भन्दै जनमतले दिएको जिम्मेवारी पुरा गर्ने समय आएको बताए ।
निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा मत फरक हुनुलाई स्वाभाविक माने पनि राष्ट्र निर्माणको लक्ष्यमा सबै एकजुट हुनुपर्ने धारणा राखे। जनताको अपेक्षा( सुशासन, विकास, सामाजिक न्याय र समृद्धि—अब व्यवहारमा देखिनुपर्ने उनले संकेत गरे।
राष्ट्रपतिले निर्वाचनलाई “महान् उत्सव” को रूपमा चित्रण गर्दै नागरिक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास अझ मजबुत बनाएको बताए । मतदाताले मतदानमार्फत देशको दिशा तय गरिसकेको भन्दै अब त्यसलाई कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको काँधमा आएको उल्लेख गरे।
यसपटकको निर्वाचनमा पारदर्शिता, मितव्ययिता र हरित अवधारणालाई प्राथमिकता दिइएको भन्दै उनले यसले निर्वाचनलाई अझ विश्वसनीय बनाएको धारणा राखे। अन्तर्राष्ट्रिय स्तरमा समेत सकारात्मक सन्देश गएको पौडेलले बताए।
राष्ट्रपतिले अन्त्यमा सबै पक्षलाई एउटै सन्देश दिए अब बहस होइन, परिणाम दिने समय हो। जनताले दिएको म्यान्डेटलाई कार्यान्वयन गर्न सरकारदेखि सरोकारवाला सबै सक्रिय हुनुपर्नेमा जोड दिए।































प्रतिक्रिया