पश्चिम एसियामा अर्को द्वन्द्वको खतरा : यमनमा साउदीको हमला

पश्चिम एसियामा अर्को द्वन्द्वको खतरा : यमनमा साउदीको हमला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिका–इरान युद्धको प्रभाव अब पश्चिम एसियाको अर्को मोर्चामा फैलिने संकेत देखिएको छ । विगत केही दिनयता यमनका हुथी विद्रोही र साउदी अरबबीच सैन्य तनाव तीव्र बन्दै गएको छ । हुथीहरूले साउदी अरब र लाल सागरमा सञ्चालन हुने जहाजहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण बढाएका छन् । त्यसको जवाफमा साउदी नेतृत्वको सैन्य गठबन्धनले राजधानी सानासहित हुथी नियन्त्रणका क्षेत्रहरूमा हवाई आक्रमण सुरु गरेको छ ।

हुथीले साउदी अरबविरूद्ध समुद्री नाकाबन्दी घोषणा गरेसँगै करिब चार वर्षदेखि केही शान्त रहेको यमनमा युद्ध फेरि भड्किने जोखिम बढेको ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ ।

हुथी र साउदीबीचको पछिल्लो विवाद जुलाई १३ मा सुरु भएको थियो । इरानमा आयोजित आयोतुल्लाह अली खामेनेईको अन्तिम संस्कारमा सहभागी भएर हुथी ने ताहरू साना विमानस्थलमा आएका थिए । उनीहरूलाई यमन सरकारले साना विमानस्थलमा अवतरणको अनुमति दिएन।

सरकारले हुथी अधिकारीहरूले राष्ट्रिय एयरलाइन्समार्फत मात्र यात्रा गर्नुपर्ने अडान राखेपछि विवाद चर्किएको थियो । त्यसपछि सरकार समर्थित सेनाले इरानी विमान अवतरण हुन नदिन साना विमानस्थलको धावनमार्गमै बमबारी गरेको बताइएको छ ।

यसपछि उक्त विमान हुथीहरूको नियन्त्रणमा रहेको हुदैदाह विमानस्थलमा अवतरण गर्न बाध्य भएको थियो। यही घटनापछि हुथीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेका हुन् ।

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गर्दा हुथीहरू प्रत्यक्ष रूपमा युद्धमा सहभागी भएका थिएनन् । तर अमेरिका–इरान युद्धविराम भंग भएपछि उनीहरूले आफ्नो रणनीति परिवर्तन गरेका छन् ।

क्षेत्रीय मामिलाका विश्लेषकहरूका अनुसार इरानले हुथीहरूलाई थप सक्रिय हुन प्रोत्साहित गरेको हुन सक्छ। साथै हुथीहरू स्वयं पनि यो अवस्थालाई यमनमा आफ्नो राजनीतिक र सैन्य प्रभाव विस्तार गर्ने अवसरका रूपमा हेरिरहेका छन् ।

सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको पहलमा भएको युद्धविरामपछि साउदी अरब र हुथीबीचको प्रत्यक्ष युद्ध लगभग रोकिएको थियो । त्यसपछि दुवै पक्षबीच स्थायी शान्ति सम्झौताका लागि वार्ता भए पनि कुनै अन्तिम सहमति हुन सकेको थिएन । पछिल्ला केही हप्तामा दुवै पक्षबीच फेरि मिसाइल, ड्रोन र हवाई आक्रमण बढेसँगै चार वर्षदेखि कायम रहेको युद्धविराम अन्त्य हुने खतरा बढेको छ ।

विश्लेषकहरूका अनुसार साउदी अरब पुनः लामो युद्धमा जान इच्छुक छैन । सन् २०१५ देखि सुरु भएको युद्धमा उसले ठूलो आर्थिक तथा राजनीतिक मूल्य चुकाउनुपरेको थियो । अर्बौं डलर खर्च हुँदासमेत निर्णायक सफलता हासिल हुन सकेन भने अन्तर्राष्ट्रिय स्तरमा पनि आलोचना खेप्नुपरेको थियो ।

अर्कोतर्फ, हुथी साउदीमाथि दबाब बढाएर यमनको तेल आम्दानीमा ठूलो हिस्सा तथा देशको राजनीतिक संरचनामा बढी प्रभाव चाहिरहेका छन् । यमन मामिलाका विज्ञ फारिया अल–मुस्लिमीले भनेका छन्, “हुथीहरूका लागि हरेक समस्याको समाधान युद्ध हो, जबकि साउदी अरब आर्थिक र कूटनीतिक उपायबाट समाधान खोज्न चाहन्छ ।”

हुथी आन्दोलन सुरुमा उत्तरी यमनका शिया विद्रोहीहरूको सीमित समूह थियो । तर सन् २०११ को अरब आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरताको फाइदा उठाउँदै उनीहरूले सन् २०१४ मा राजधानी सानामाथि नियन्त्रण स्थापित गरे ।

यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अब्दरबुह मन्सुर हादी साउदी अरब भाग्न बाध्य भएका थिए । त्यसकै प्रतिक्रिया स्वरूप साउदी नेतृत्वको आठ राष्ट्रको गठबन्धनले सन् २०१५ मा हुथीविरुद्ध सैन्य अभियान सुरु गरेको थियो ।

हाल उत्तरी यमनको अधिकांश भूभाग हुथीहरूको नियन्त्रणमा छ भने दक्षिणी क्षेत्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको नियन्त्रणमा रहे पनि त्यो साउदी अरबको सैन्य तथा आर्थिक सहयोगमा निर्भर छ ।

Logo