काठमाडौं । निर्माण थालेको ८० महिनापछि अन्ततः नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालको उपस्थितिमा सोमबार सुरुङमार्ग उद्घाटन गरियो। सुरुङमार्गमा काम गरेकामध्ये ज्येष्ठ नागरिक ६३ वर्षीय पूर्ण जोशीले उद्घाटन गरेका हुन्।
नेपालका लागि जापानी राजदूत माएदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको पनि उद्घाटन कार्यक्रममा आए। नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै यसले उक्त क्षेत्रको दूरी र काठमाडौं आवतजावतको समय घटाउने मन्त्री लम्सालले बताए। ‘पहिरोको जोखिममा रहेका अन्य क्षेत्रमा पनि सुरुङ बनाउने योजना छ,’ लम्सालले भने, ‘चालु वर्षको बजेटमा धेरै ठाउँमा सुरुङ निर्माण गर्ने योजनाअनुसार अध्ययन र निर्माणका लागि बजेट छुट्याइएको छ।’
यो सुरुङमार्ग निर्माण नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्को रहेको जाइकाका अध्यक्ष तानाका अकिहिकोले जनाए। निर्माणका क्रममा आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर रहेको र जापानी विज्ञसँगको सहकार्यमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय कार्य भएको अध्यक्ष अकिहिकोको भनाइ छ। नागढुंगा सुरुङमार्गले नेपालको आर्थिक विकासको प्रवेशद्वारका रूपमा काम गर्ने र भविष्यमा दुई देशबीचको सहकार्य अझ प्रगाढ हुने नेपालका लागि जापानी राजदूत माएदा तोरुले बताए।
सुरुङ सञ्चालनमा आएसँगै पहिलो लटमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ। बिस्तारै अन्य सवारी साधनलाई पनि खुला गर्दै लगिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले जनाए। ‘यो सुरुङमार्गको परीक्षणकाल हो, यस अवधिमा हामीले शुल्क नलिने भएका छौं,’ नेपालले भने। परीक्षण अवधि सकिनु एक साताअघि नै शुल्कसम्बन्धी थप जानकारी दिइने उनको भनाइ छ।
सुरुङ नहुँदा धादिङबाट काठमाडौं आउँदा नागढुंगा उकालोमा सवारी चाप हुने बेला साना सवारीलाई १५ र ठूलालाई ३५ मिनेट समय लाग्थ्यो। तर अब सुरुङमार्गबाट ७ मिनेटमै धादिङको सिस्नेखोलादेखि बलम्बुको किसिपिडी आइपुगिने आयोजनाको भनाइ छ।
सुरुङभित्र भेन्टिलेसन प्रयोजनका लागि १५ वटा जेट फ्यान जडान गरिएको छ। मुख्य सुरुङको दूरी २.६८८ र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ। मुख्य सुरुङ र आपत्कालीन सुरुङबाट ३ सय ७५ मिटरमा ७ वटा क्रस प्यासेज निर्माण गरिएको छ।
सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले भने प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिएको छ। सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको सडक बोर्ड नेपालले जनाएको छ।
युसिन–एआरटी जेभीले सुरुङ सञ्चालनको जिम्मा पाएको छ। युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन्। सुरुङमार्गमा १ सय ४६ जना कर्मचारी हुने बताइएको छ। सेवा प्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ। उक्त कम्पनीले सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ। प्रत्येक दिन उठेको रकम टोल सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–२ स्थित टुटीपाखामा ४ कात्तिक २०७६ मा शिलान्यास गरेसँगै सुरुङ निर्माण थालिएको थियो। ४२ महिनाभित्र सक्ने लक्ष्यसहित यसको निर्माण थालिए पनि कोभिड महामारी, स्थानीयको अवरोधलगायत कारणले ढिला गरी मात्र सम्पन्न भएको पूर्वाधार मन्त्रालयको भनाइ छ।
निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको थियो। हाज्माले गत जेठमा नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङको काम सकेर हस्तान्तरण गरेको हो। सम्झौताअनुसार एक वर्षभित्र सुरुङमा कुनै समस्या आए हाज्माले नै मर्मतसम्भार गर्नुपर्नेछ।




















