काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणको प्रहरीले अनुसन्धान टुंगोमा पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार इनिशाको मृत्युको कारण सामूहिक बलात्कार नभई यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण भएको रक्तश्राव देखाइएको छ ।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१, बस्दै आएकी १६ वर्षकी इनिसाको गत फागुन २३ गते वीरेन्द्रनगर मृत्यु भएको थियो । उक्त घटनामा संलग्न मुख्य अभियुक्त १६ वर्षे युवकसहित तीन जनालाई समेत पक्राउ गरी प्रहरीले अनुन्धान थालेको थियो । मुख्य अभियुक्तलाई जबर्जस्ती करणी र कर्तत्व ज्यानसम्बन्धी मुद्दामा जन्मकैदको माग गरिएको छ । पक्राउ परेका अन्य तीन जनाविरुद्ध घटनास्थल पुगेको र इनिशालाई बचाउन भूमिका नखेलेको अभियोगमा कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाइएको छ ।
पीडित परिवारले घटनामा संलग्नमाथि कारबाही नहुञ्जेल शव नबुझ्ने अडान लिएका छन् । १९ दिनयता इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा अलपत्र छ ।
दुई हप्ता अघिदेखि प्रहरीले वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भन्दै केन्द्रबाट सीआईबी, नेपालगन्जबाट पोलिग्राफ, सीडीआर एनालिसिसहरू लगायतका विज्ञहरुको टोलीले घटनाको अनुसन्धान गरेको छ । सामुहिक बालात्कारपछि इनिशाको हत्या भएको भन्दै आफन्त र परिवारले उनको शव बुझ्न मानेका छैनन् । घटना भएको १८ दिनबितिसक्दा पनि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमै रहेको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितहरुको मोबाइलसहित भजाइनल स्वाब परिक्षण लगायतका परिक्षण, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परिक्षण प्रहरीले प्रतिवेदन तयार गरेको हो ।
पक्राउ परेकामध्ये एकले एक नाबालकले दुई बर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको, आफूहरुबीच शारीरिक सम्बन्ध रहँदै आएको र घटनाको दिनमा पनि सहमतीमै शारीरिक सम्पर्क पछि रक्तश्राव भएपछि इनिशा बेहोस् भएको बयान दिएका थिए । ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ति एक अनुसन्धान अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरु साथिहरु घटनास्थल आएका हुन् ।’ सीसीटीभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ ।
सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारवाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् । इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरेको थियो ।





























प्रतिक्रिया