देउवाकाे बयान- ‘मेरो निवासमा जलेकाे पैसा एआई जेनेरेटेड हो, सुरक्षा संयन्त्रले आंकलन गर्न सकेन’

देउवाकाे बयान- ‘मेरो निवासमा जलेकाे पैसा एआई जेनेरेटेड हो, सुरक्षा संयन्त्रले आंकलन गर्न सकेन’

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते मुलुकमा भएको हिंसात्मक प्रदर्शन र आफ्नो निवासमा भएको आक्रमणलाई ‘नियोजित षडयन्त्र’को संज्ञा दिएका छन्।

जाँचबुझ आयोगसमक्ष दिएकाे बयानमा देउवाले घटनाका बेला सुरक्षा निकायले परिस्थितिको सही आकलन गर्न नसकेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री देउवाका अनुसार भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरूको एउटा समूह बुढानीलकण्ठस्थित उनको निजी निवासमा पुगेर उग्र नाराबाजी गरेको थियो। “सुरक्षाकर्मीले रोक्दा-रोक्दै हामीमाथि हातपात भयो,” बयानमा भनिएको छ, “केही ‘जेनजी’ युवाहरूले मलाई बचाएका थिए।”

आक्रमणपछि आफू राति १० बजेतिर मात्र सुरक्षित स्थानमा पुग्न सफल भएको उनले खुलाएका छन्। निवासमा भएको तोडफोड, आगजनी र लुटपाटबारे नेपाल प्रहरीले मुचुल्का उठाएर लगेको भए पनि हालसम्मको कारबाहीबारे आफूलाई जानकारी नभएको उनले बताए। निवासमा भेटिएको रकमबारे उल्लेख गर्दै उनले त्यो ठुलो परिमाणमा नरहेको दाबी गरे।

आफ्नो नाममा सामाजिक सञ्जालमा फैलाइएका विवरणहरू ‘एआई जेनेरेटेड’ र भ्रामक रहेको देउवाको जिकिर छ। उनले यसलाई आफ्नो विरुद्धको ठुलो षडयन्त्र बताएका छन्। यद्यपि, यसबारे कुनै पनि प्रहरी कार्यालयमा उजुरी भने नगरेको उनले स्वीकार गरे। भदौ २३ गते राति आफूले तत्कालीन प्रधानमन्त्रीलाई भेटेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको र सोही अनुसार प्रतिबन्ध हटेको समेत उनले खुलाए।

प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप भएको भन्ने आरोपलाई देउवाले अस्वीकार गरेका छन्। “भदौ २३ र २४ गतेको घटनामा प्रहरीले सही आकलन गर्न नसकेको हुनसक्छ, तर यसमा राजनीतिक हस्तक्षेप भएको भन्ने कुरामा म सहमत छैन,” उनले भनेका छन्। उनले आफूले कुनै पनि पक्षपातपूर्ण काम नगरेको दाबी गरे।

बयानका क्रममा देउवाले लोकतन्त्रमा ट्रेड युनियन र विद्यार्थी सङ्गठनहरूको अधिकारको सम्मान गर्नुपर्ने तर गैर-राजनीतिक संस्थाहरूमा राजनीतीकरण गर्न नहुने धारणा राखे। उनले भने, “तोडफोड र लुटपाटमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ। अब युवाहरूको भावनालाई समेटेर नीतिगत, कानुनी र संस्थागत सुधार गर्न आवश्यक छ।”

Logo