ऊर्जा संकटको डरपछि फिलिपिन्समा राष्ट्रिय आपतकाल घोषणा

ऊर्जा संकटको डरपछि फिलिपिन्समा राष्ट्रिय आपतकाल घोषणा

केन्द्रबिन्दु
24
Shares

मनिला। पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा “तत्काल खतरा” देखिएको भन्दै फिलिपिन्स सरकारले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरेको छ। राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले मंगलबार जारी गरेको कार्यकारी आदेशमार्फत ऊर्जा आपतकाल एक वर्षसम्म लागू हुने बताइएको छ ।

सरकारले विश्व ऊर्जा बजारमा देखिएको अनिश्चितता, आपूर्ति शृङ्खलामा अवरोध तथा अन्तर्राष्ट्रिय तेल मूल्यको तीव्र उतार–चढावले देशको ऊर्जा सुरक्षामा गम्भीर जोखिम उत्पन्न गरेको जनाएको छ । आपतकालीन अवस्थालाई सामना गर्न उच्चस्तरीय समिति गठन गरिएको छ, जसले इन्धन, खाद्यान्न, औषधि र अन्य अत्यावश्यक वस्तुको आपूर्ति र वितरण सुनिश्चित गर्नेछ ।

ऊर्जा मन्त्रालयका अनुसार हाल फिलिपिन्ससँग करिब ४५ दिन मात्र पुग्ने इन्धन मौज्दात छ। सरकारले १० लाख ब्यारेल तेल खरिद गरी भण्डारण बढाउने तयारी गरिरहेको छ । तर आगामी खरिद प्रक्रिया अन्तर्राष्ट्रिय बजारको अनिश्चितताका कारण प्रभावित हुन सक्ने चेतावनी पनि दिइएको छ।

आपतकाल घोषणासँगै सरकारलाई आवश्यक परेमा नियमित प्रक्रिया छिटो पार्दै इन्धन खरिद तथा आपूर्ति व्यवस्थापन गर्ने अधिकार प्राप्त भएको छ। साथै, अर्थ मन्त्रालयलाई केन्द्रीय बैंकसँग समन्वय गरी मुद्रा (पेसो), रेमिट्यान्स र सम्भावित अवमूल्यनको प्रभाव नजिकबाट निगरानी गर्न निर्देशन दिइएको छ।

Logo