भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन

भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । अनशनरत भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन तोडेका छन् । भारतमा परीक्षाका प्रश्नपत्र बाहिरिएका घटनाको शृंखलापछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै उनी अनशन बसेका थिए ।

बिहीबार अबेर राति सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै ५९ वर्षीय वाङचुकले विभिन्न सर्तहरूमा भएको लामो छलफल र देशमा हुन सक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै आफूले अनशन अन्त्य गरेको बताएका छन् । उनले ती सर्तहरूबारे छुट्टै भिडियोमार्फत जानकारी दिने बताएका छन् ।

प्रश्नपत्र बाहिरिनेक्रम रोक्न कडा कानुन ल्याइने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’ मार्फत भिडियो सम्बोधन सार्वजनिक गरेलगत्तै वाङचुकको यो घोषणा आएको हो । मोदीले प्रश्नपत्र चुहावट गराउने कार्यमा संलग्नहरूविरुद्ध फास्ट–ट्रयाक अदालतमार्फत कारबाही अघि बढाउने उपायमा सरकारले काम गरिरहेको र शुक्रबार मन्त्रिपरिषदमा यस विषयमा छलफल हुने बताएका छन् ।

भिडियो सम्बोधनमा शिक्षामन्त्री प्रधानको नाम नलिई मोदीले प्रश्नपत्र बाहिरिने घटनालाई लाखौँ विद्यार्थीका लागि अत्यन्तै पीडादायी विषय भएको बताएका छन् ।

मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएपछि लाखौँ विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए । सोही घटनामा प्रधानको राजीनामाको माग गर्दै आन्दोलनरत युवा नेतृत्वको ककरोच जनता पार्टी (सीजेपी) प्रति ऐक्यबद्धता जनाउँदै वाङचुक जुन २८ देखि अनशनमा बसेका थिए ।

यो आन्दोलन सन् २०२४ मा तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएयता प्रधानमन्त्री मोदीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । आन्दोलनअन्तर्गत हजारौँ सीजेपी समर्थकहरूले नयाँ दिल्लीको जन्तर–मन्तरस्थित विरोधस्थल तथा देशका विभिन्न सहरमा प्रदर्शन जारी राखेका छन् ।

Logo