काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दिउँसो पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
संविधानको धारा ७६(१) अनुसार बहुमतसहित सरकार गठन गर्न लागेका बालेनलाई शपथअघि औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । शपथ समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज र उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।
प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूले पनि आजै शपथ लिने तयारी रहेको बताइएको छ। यसले नयाँ सरकार तत्काल काममा लाग्ने संकेत दिएको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत ल्याएको थियो। सोही आधारमा बिहीबार बसेको दलको बैठकले बालेनलाई संसदीय दलको नेतामा चयन गरेको हो। झापा–५ बाट निर्वाचित बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेका थिए ।
यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई शपथ गराइसकेका छन्। अब बालेनको शपथसँगै देशमा नयाँ सरकार औपचारिक रूपमा अघि बढ्नेछ, जसलाई धेरैले नयाँ राजनीतिक अध्यायको सुरुवातका रूपमा हेरेका छन्।





























प्रतिक्रिया