काठमाडौं । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेसँगै डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै काम सुरु गरेका छन्। सिंहदरबार पुगेलगत्तै उनले नीतिगत तयारीतर्फ ध्यान दिँदै एकपछि अर्को कार्यदल गठन गरेका हुन्।
उनको पहिलो कदम नै देशको वास्तविक आर्थिक अवस्था बुझ्ने दिशामा देखिएको छ। त्यसका लागि हालको आर्थिक स्थिति अध्ययन र विश्लेषण गर्ने विशेष कार्यदल बनाइएको छ, जसले छोटो समयमै प्रतिवेदन दिनेछ।
यस्तै, चुनावी प्रतिबद्धता कार्यान्वयन र नयाँ जनादेशअनुसार स्पष्ट कार्ययोजना बनाउन अर्को समूह खटाइएको छ। यसले सरकारको आर्थिक एजेन्डा कागजबाट व्यवहारमा लैजान भूमिका खेल्ने अपेक्षा गरिएको छ।
वाग्लेले पुराना संरचना र कानुनतर्फ पनि हात हालेका छन्। राजस्व अनुसन्धान विभागको औचित्यबारे समीक्षा गर्दै आवश्यक परे खारेजसम्म गर्ने र झण्डै १५ वटा ऐन संशोधन वा हटाउने विषयमा अध्ययन सुरु गरिएको छ।
निजी क्षेत्रको विश्वास जित्न र लगानीको वातावरण सुधार गर्न छुट्टै कार्यदल बनाइएको छ भने ठूला आयोजना छिटो अघि बढाउन सहजीकरण गर्ने निर्णय पनि गरिएको छ।
अबको मुख्य ध्यान भने बजेट निर्माणमा रहने वाग्लेले बताएका छन्। शुरुवातमै लिएका यी निर्णयले नयाँ सरकार आर्थिक सुधारतर्फ आक्रामक रूपमा अघि बढ्न खोजेको संकेत दिएका छन्।





























प्रतिक्रिया