स्थानिय उत्पादनलाई बजारको अभाव

स्थानिय उत्पादनलाई बजारको अभाव

केन्द्रबिन्दु
3
Shares

बागलुङ। बागलुङमा लाग्ने चैतेदसैँ मेलालाई परम्परागत रूपमा स्थानीय उत्पादनको प्रमुख बजार मानिँदै आएको छ । तर पछिल्ला वर्षहरूमा आयातित वस्तुको बढ्दो प्रभावका कारण ग्रामीण भेगका मौलिक उत्पादनहरू ओझेलमा पर्न थालेका छन् ।

मेलामा बागलुङसहित पर्वत, म्याग्दी, कास्की, तनहुँ, स्याङ्जा लगायतका जिल्लाबाट व्यापारी आए पनि यसपालि व्यापार अपेक्षाकृत कमजोर रहेको देखिएको छ । विशेषगरी स्थानीय हस्तकला सामग्री जस्तै चोयाका डाली, नाङ्लो, काठका ठेकी, मदानीलगायतका वस्तुहरू बिक्री नहुँदा व्यापारी निराश बनेका छन् ।

काठका ठेकी बिक्रीका लागि म्याग्दीबाट आएका लिलबहादुर चुँदारा पछिल्ला वर्षमा व्यापार निकै घटेको बताउँछन् । उनका अनुसार पहिले गाउँमा दूध, दही, महीजस्ता परम्परागत उपभोग बढ्दा काठका सामग्रीको माग उच्च थियो, तर अहिले बजारकै उत्पादनतर्फ निर्भरता बढेपछि बिक्री घटेको छ ।

त्यस्तै, कास्कीबाट चोयाका डाली बिक्री गर्न आएका तुलमान गुरुङले पनि प्लास्टिकजन्य वस्तुका कारण स्थानीय उत्पादन विस्थापित हुँदै गएको गुनासो गरेका छन् । लामो समयदेखि मेलामा सहभागी भए पनि पछिल्ला वर्षमा आम्दानी घट्दै गएको उनको भनाइ छ ।

व्यापारीहरूका अनुसार पहिले मेलामा राम्रो व्यापार हुने र घर फर्किँदा राम्रै आम्दानी हुने भए पनि अहिले अवस्था उल्टिएको छ । धेरैजसो स्थानीय उत्पादन बिक्री नहुँदा कतिपयले लागतसमेत नउठ्ने अवस्था रहेको बताएका छन् ।

स्थानीय बासिन्दा र व्यापारीहरूले मेलालाई पुनः स्थानीय उत्पादन प्रवद्र्धन गर्ने माध्यमका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

Logo