नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सरकारको ध्यानाकर्षण

नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
9
Shares

गण्डकी। ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’ ले नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महाअभियानका तर्फबाट प्राज्ञ नगेनसिंह ठकुरीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत प्रधानमन्त्रीलाई आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयसहित ध्यानाकर्षणपत्र बुझाएका छन्।

नौबुँदे ध्यानाकर्षणपत्रमा नेपाली कला र वास्तुकलालाई विश्वभर चिनाउन अरनिकोको जस्तै स्वर्णयुग ल्याउन सकिने उल्लेख छ। हरेक सरकारी विद्यालयमा ललितकला गुरु राख्ने, विभिन्न स्रोतबाट उठेको करको निश्चित प्रतिशत ललितकलामा लगानी गर्ने र सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राख्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी कलाकारका कलाकृति बैंकमा धितो राखेर ऋण सुविधा दिने, नेपाल ललितकला विकास बोर्ड गठन गर्ने, ललितकला पर्यटन प्रवर्द्धन गर्ने र विज्ञापन बोर्डमा कलाकारको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय पनि समावेश छन्।

अन्तर्राष्ट्रियस्तरको कला पुरस्कार स्थापना, छुट्टै ललितकला विश्वविद्यालय खोल्ने, ‘क’ श्रेणीका पत्रिकामा एक पृष्ठ ललितकलाका लागि छुट्याउने र संविधानमै ललितकलालाई राज्यको एक अङ्गका रूपमा उल्लेख गर्नुपर्ने माग पनि गरिएको छ।

महाअभियानले कलाकारको विकासले सांस्कृतिक पहिचान, पर्यटन र अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गरेको छ। प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ध्यानाकर्षणपत्र प्रधानमन्त्रीसमक्ष पठाइने जनाइएको छ।

Skip This
Skip This
Logo