काठमाडाैं । पर्यटक कलाकारको स्वागत नेपाली लोकसांस्कृतिक आधार भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
उक्त मेला गत चैत ५ गतेदेखि सञ्चालन भएको थियो। कार्यक्रमको शुभारम्भ काठमाडौंमा गरिएको थियो भने पाँचखाल, पोखरा, बुढानिलकण्ठ, बसन्तपुर, पाटन दरबार क्षेत्रलगायत विभिन्न स्थान तथा विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

मेलामा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, ताइपे, दक्षिण अफ्रिका, इजरायल, नेपाललगायत विभिन्न देशका कलाकारको सहभागिता रहेको थियो। केही देश भने अन्तर्राष्ट्रिय परिस्थितिका कारण सहभागी हुन नसकेको आयोजकले जनाएका छन्।
आयोजकका अनुसार, सन् २००२ देखि प्रत्येक दुई वर्षमा नेपालमा आयोजना हुँदै आएको यस मेलामा विभिन्न देशका कलाकारले आफ्ना मौलिक लोकसंस्कृति झल्कने प्रस्तुति दिएका थिए।

कार्यक्रमलाई देशभरबाट ५ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए भने टेलिभिजन, युट्युब र फेसबुकमार्फत पनि उल्लेखनीय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष आरसी कोइरालाले जानकारी गराए। यस्ता कार्यक्रमले नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ। यद्यपि, सम्बन्धित सरकारी निकायबाट अपेक्षित सहयोग नपाएकोप्रति आयोजकले दुःख व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, पाँचखाल नगरपालिकालगायत स्थानीय तह तथा विभिन्न संस्थाले सहयोग पुर्याएका थिए। एभरेस्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्यले आगामी चौधौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८४ को तयारीमा जुट्ने जानकारी गराउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।


































प्रतिक्रिया