गाईघाट । उदयपुर जिल्लामा यस वर्ष चैतेधान रोपाइँले तीव्र गति लिएको छ । जिल्लाका विभिन्न स्थानमा हालसम्म १ हजार १०० हेक्टर क्षेत्रफलमा चैतेधान रोपिसकिएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा वार्षिक रूपमा करिब १ हजार ५०० हेक्टर क्षेत्रमा चैतेधान खेती हुने गरेको छ । बाँकी करिब ४०० हेक्टरमा पनि यही महिनाभित्र रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको उनले बताए।
“खेतमा अहिले धमाधम रोपाइँ भइरहेको छ, यसै महिनाभित्र सबै रोपाइँ सकिने देखिएको छ,” उनले भने।
जिल्लाका आठ पालिकामध्ये उदयपुरगढी र रौतामाई गाउँपालिकामा सबैभन्दा धेरै क्षेत्रफलमा चैतेधान रोपिएको छ । त्यसैगरी ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा पनि चैतेधान रोपाइँ नियमित रूपमा हुँदै आएको छ ।































प्रतिक्रिया