काठमाडौँ । नेकपा एमालेभित्र संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर आन्तरिक बहस चर्किएको छ । उक्त अभिव्यक्तिपछि नेता सुरेन्द्र पाण्डेले पार्टी नेतृत्व र विगतको सरकारको भूमिकामाथि प्रश्न उठाउँदै आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन् ।
बादलले संसदमा जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनसहितका घटनालाई “षड्यन्त्र” र विभिन्न निकायहरूको मिलेमतोको परिणाम भएको संकेत गरेका थिए । उनले सेना, कर्मचारी र प्रविधि प्रणालीसमेत प्रभावकारी नभएको दाबी गरेका थिए ।
तर पाण्डेले यस्तो व्याख्यालाई लक्षित गर्दै दोष अरूमाथि थोपर्ने राजनीति अब पुरानो भइसकेको टिप्पणी गरेका छन् । उनका अनुसार पछिल्लो राजनीतिक वातावरण निर्माणमा एमाले नेतृत्वको सरकारको अकर्मण्यता पनि जिम्मेवार छ ।
पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो । सबै दोष अरूलाई मात्र देखाइयो, तर हामी पनि दोषी छौं– यो अवस्था सिर्जना गर्न हाम्रो सरकारको कमजोरी जिम्मेवार होइन र र?”
उनले “घेराबन्दीमा पर्यौं” भन्ने राष्ट्रवादी भाष्य अब सान्दर्भिक नभएको भन्दै देशको मुख्य बाटो आर्थिक सुधार र व्यवहारिक नीतितर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
यसैबीच एमाले उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिबारे पार्टी सचिवालयमा छलफल हुने संकेत दिएका छन् । पछिल्ला अभिव्यक्तिहरूले एमालेभित्र वैचारिक मतभेद र नेतृत्वगत असहजता बढ्दै गएको विश्लेषण गरिएको छ ।





























प्रतिक्रिया