काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि देखिएको कमजोर नतिजाबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विस्तृत समीक्षा गर्दै १० बुँदे सुधार योजना सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा प्रस्तुत प्रतिवेदनमा चुनावी परिणामलाई अपेक्षाभन्दा “असामान्य” भन्दै यसको मुख्य कारण डिजिटल माध्यमबाट बनेको नयाँ राजनीतिक लहरलाई मानिएको छ । सामाजिक सञ्जालमार्फत फैलिएको प्रभावलाई प्रतिवेदनमा “डिजिटल सुनामी” भनिएको छ, जसले परम्परागत राजनीतिक शक्तिलाई चुनौती दिएको उल्लेख छ ।
प्रतिवेदनमा संगठनात्मक कमजोरीलाई पनि प्रमुख कारण मानिएको छ । पार्टी एकता पछि संरचना तल्लो तहसम्म मजबुत हुन नसक्नु, वैचारिक प्रशिक्षण कमजोर हुनु र युवा पुस्तासँग दूरी बढ्नु जस्ता पक्षलाई हारसँग जोडिएको छ ।
यसै आधारमा नेकपाले संगठन समायोजन, सदस्यता नवीकरण, एकता महाधिवेशन, नेतृत्व पुनर्गठन, वैचारिक प्रशिक्षण, आर्थिक कोष निर्माण, प्रविधि क्षमता विकास र कार्यशैली सुधारसहित १० बुँदे कार्ययोजना अघि सारेको छ ।
नेकपाको १० बुँदे कार्ययोजना :
प्रतिवेदनमा पार्टीलाई पुनर्जीवन दिन १० बुँदे कार्ययोजना प्रस्ताव गरिएको छ–
१. सङ्गठन समायोजन र निर्माणः एक महिनाभित्र पालिका तहसम्म र तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण र समायोजन सम्पन्न गर्ने ।
२. सदस्यता नवीकरण र अधिवेशनः तीन महिनाभित्र सदस्यता नवीकरण सक्ने र पाँच महिनाभित्र वडादेखि प्रदेशसम्मका अधिवेशनहरू सम्पन्न गर्ने ।
३. एकता महाधिवेशनः आगामी छ महिनाभित्र पार्टीको राष्ट्रिय एकता महाधिवेशन आयोजना गर्ने ।
४. नेतृत्वको पुनर्गठन र रूपान्तरणः सङ्गठनको मात्र नभई नेतृत्वको समेत पुनर्गठन गरी नयाँ र ऊर्जावान् बनाउने ।
५. प्रशिक्षण अभियानः व्यवस्थित पाठ्यक्रम निर्माण गरी देशव्यापी रूपमा सघन सैद्धान्तिक तथा वैचारिक प्रशिक्षण चलाउने ।
६. आर्थिक कोष निर्माणः पार्टीलाई आत्मनिर्भर बनाउन व्यवस्थित आर्थिक कोष निर्माण अभियान सञ्चालन गर्ने ।
७. प्रभावकारी प्रतिपक्षको भूमिकाः संसद्मा राष्ट्र र जनसरोकारका विषयमा रचनात्मक र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने ।
८. स्थानीय तह परिचालनः पार्टीका निर्वाचित प्रतिनिधिहरूलाई जनपक्षीय काममा थप सक्रिय बनाउने ।
९. प्राविधिक क्षमता विकासः सूचना प्रविधिको युगसँग जुध्न नेता तथा कार्यकर्ताको प्राविधिक ज्ञान र क्षमता अभिवृद्धि गर्ने ।
१०. कार्यशैली र आचरण सुधारः नेता–कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरणमा आमूल सुधार ल्याउने ।
पार्टीले आगामी छ महिनाभित्र एकता महाधिवेशन गर्ने लक्ष्य राखेको छ । विश्लेषकहरूका अनुसार यो समीक्षा परम्परागत राजनीतिक शैलीबाट डिजिटल युगतर्फको दबाब स्वीकार गर्ने संकेतका रूपमा देखिएको छ ।





























प्रतिक्रिया